आम्ची उपचार विधिलाई संस्थागत गरेर पर्यटकलाई आकर्षित गर्न सकिने
काठमाडौँ । हिमाली क्षेत्रमा परम्परागत औषधी उपचारमा संलग्न रहेको आम्चीहरुको पेसालाई संस्थागत गरेर स्वास्थ्य पर्यटकलाई आकर्षित गर्न सकिने बताइएको छ ।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) द्वारा आयोजित परम्परागत आम्ची अभ्यास र आदिवासीको प्रथा जनित व्यवस्थाका बारेमा गरिएको अनुसन्धानका बारे आयोजित अन्तर्क्रियाका क्रममा अध्ययता नरेन्द्र लामाले उक्त कुरा बताएका हुन् ।
उनले आम्ची उपचार विधिलाई नेपाल सरकारले मान्यता नदिए पनि विश्वका विभिन्न मुलुकमा समेत आम्चीहरुले उपचार गराइरहेको आफुले थाहा पाएको उल्लेख गर्दै उक्त उपचार विधिलाई मान्यता दिएर संस्थागत गरे स्वास्थ्य पर्यटनको संभावना रहेको बताएका हुन् ।
”परम्परागत उपचारमा संलग्न केही आम्चीहरु रुसलगायतका देशहरुमा समेत उपचार गराउन जाँदा रहेछन्” उनले ”हिमाली क्षेत्रमा आम्ची परम्परागत उपचार विधि र अभ्यास” विषयक कार्यपत्र प्रस्तुत गर्दै भने, ”उनीहरुले यस प्रकार ख्याती त्यसै कमाएका होइनन्, अस्पताल र डाक्टरले अब उपचार हुँदैन भनेर फर्काएमा विरामीको उपचार सफल भएपछि पाएको प्रसिद्धि हो ।” आम्ची उपचार विधिलाई बैकल्पिक उपचारका रुपमा संस्थागत गर्न सके स्वास्थ्य पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ ।
उत्तरी गोरखा र उपल्लो मुस्ताङको परम्परागत आम्ची उपचार पद्धतिका बारेमा अनुसन्धान गरेका अध्येयता नरेन्द्र लामाले आफ्नो प्रस्तुतिका क्रममा यस उपचार विधिलाई सरकारले मान्यता दिएको खण्डमा यसले आदिवासीहरूको परम्परागत ज्ञानको संरक्षण गर्ने मात्र नभई त्यस क्षेत्रको जैविक विविधताको संरक्षणमा पनि योगदान पुग्ने बताए ।
”आम्ची उपचार विधि हिमाली क्षेत्रको आदिवासीको परम्परागत ज्ञान हो, यसले त्यस भेगका मानिसहरूलाई सरल र सहज ढङ्गले सेवा दिइरहेको छ” उनले ”हिमाली क्षेत्रमा आम्ची परम्परागत उपचार विधि र अभ्यास” विषयक कार्यपत्र प्रस्तुत गर्दै भने, ”पछिल्लो समय सरकारको बेवास्ता, जटीबुटिहरुको अभाव तथा उनीहरूको जीविकाको सङ्कटले गर्दा यो उपचार विधि लोप हुने अवस्थामा छ ।”
कार्यक्रममा नरेन्द्र लामा, डा. पासाङ शेर्पा र डा. पासाङ डोल्मा शेर्पाले उत्तरी गोरखामा आम्चीको उपचार विधिबारे गरेकाे अनुसन्धान पुस्तक पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले आम्ची उपचार विधिलाई मान्यता दिँदै सुरक्षा गर्न सकेमा त्यसले आदिवासीहरूको परम्परागत ज्ञानका साथै जैविक विविधताको पनि संरक्षणमा सहयोग पुग्नेऔँल्याएका थिए ।
लामाले आम्ची उपचार विधि हिमाली समुदायका लागि सरल र सुलभ रूपमा उपलब्ध हुने गरेको, सांस्कृतिक/आध्यात्मिक विश्वाससँग जोडिएको तथा कुनै प्रकारको साइड इफेक्ट नहुने हुँदा यस प्रति अझै जनमानसमा विश्वास रहेको बताए । साथै उनले विभिन्न रोगहरूको उपचार प्रभावकारी रूपमा भएको उदाहरणहरू पनि पेस गरेका थिए ।
सिप्रेडले प्रकाशन गरेको नरेन्द्र लामा, डा. पासाङ शेर्पा र डा. पासाङ डोल्मा शेर्पाले गरेको अनुसन्धान पुस्तकमा उत्तरी गोरखाको चुम नुब्री गाउँपालिकामा रहेका आम्चीहरुले प्रयोग गर्ने ५४ थरी जटीबुटिको स्थानीय नाम, वैज्ञानिक नाम तथा उपचार विधिको सङ्कलन गरिएको छ ।
लामाको कार्यपत्रमाथि टिप्पणी गर्दै हिमालयन आम्ची एसोसिएसनका अध्यक्ष ग्याल्चो विष्टले विगतमा सदियौँदेखि नेपालका सबै हिमाली क्षेत्रहरूमा आम्चीले सेवा दिने गरे पनि हाल आएर उपल्लो डोल्पा, उपल्लो मुगु, उपल्लो मुस्ताङ र उत्तरी गोरखा गरी जम्मा चार जिल्लामा मात्र यो उपचार विधि प्रयोगमा रहेको बताए ।
”हामीले लामो समयदेखि सरकारी मान्यताको लागि कुरा गरिरहेका छौं । मङ्गोलिया, तिब्बत, भारतको लद्दाखमा समेत यसलाई सरकारी मान्यता दिइएको छ” उनले भने, ”नेपालमा भने अझै मान्यता पाइएको छैन, त्यसैले हामी एसोसिएसनको तर्फबाट हामी आफैले परिषद् गठन गरेर प्रमाणपत्र वितरण गरेका छौँ ।”
कार्यक्रममा वन मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगानाले जैविक विविधताको संरक्षण तथा त्यसको उपयोगमा आदिवासी जनजातिहरूको ज्ञान र सीप महत्त्वपूर्ण रहे पनि राज्यले आझै त्यसलाई आत्मसात् गर्न नसकेको बताए । ”हामीले अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर चाहि गरेका छौँ, तर त्यसलाई आन्तरिक रूपमा कार्यन्वयन गर्न सकेका छैनौं” उनले भने, ”आन्तरिक रूपमा ती सन्धिहरुले गरेका ब्यवस्थाहरु लागु गराउनका लागि अझ धेरै काम गर्न बाँकी छ ।”
त्यसै गरी वनस्पति विभागकी ज्वाला श्रेष्ठले यस प्रकारको अध्ययन अनुसन्धानले राज्यलाई समेत जैविक विविधता र परम्परागत ज्ञान सीपको पहिचान, मान्यता तथा दस्तावेजीकरणमा सघाउ पुग्ने बताइन् ।
कार्यक्रममा चुम नुब्री गाउँपालिकाका वडा अध्यक्ष वीर बहादुर लामाले आम्ची उपचार विधिलाई मान्यताका लागि गाउँपालिकाले ऐन बनाउँदै गरेको बताए भने मुस्ताङको ल-घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले आम्चीलगायतका आदिवासीको परम्परागत ज्ञानको संरक्षण र मान्यताको लागि आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्देश्य बारे स्पष्ट पार्दै सिप्रेडकी कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले आदिवासी ज्ञानको अनुसन्धान, दस्तावेजीकरण र त्यसैको आधारमा नीतिगत पैरवी गर्दे आएको बताइन् ।
सिप्रेडका अध्यक्ष डा. पासाङ शेर्पाले आदिवासीहरूको प्रथा जनित संस्थाहरूलाई मान्यता दिलाउनका लागि अवसरहरू पनि रहेको बताए । मुलुक सङ्घीय संरचनामा गएकाले तीनै तहमा नियम, कानुनहरू बनाउने कार्य भइरहेको हुँदा त्यसमा हस्तक्षेप गर्न सकिए आफ्ना सरोकारहरू केही हदसम्म सम्बोधन गराउन सकिने बताए । ”स्थानीय तहमा केही हदसम्म यसमा सफलता मिलेको पनि छ, केही गाउँ पालिकाले आफ्नो वन ऐनमा आदिवासीहरूले परम्परागत रूपमा व्यवस्थापन गर्दै आएको वनलाई मान्यता दिएका छन् भने केहीले आदिवासीको परम्परागत संस्थाहरूलाई मान्यता दिएको छ” उनले भने ।
उनले आम्ची परम्परागत उपचार विधिलाई स्थानीय तहमा स्वीकृति लिएर क्लिनिक सञ्चालन गर्न सकिने गरी हालै मात्र सरकारले निर्णय गरेको र राजपत्रमा समेत प्रकाशित भइसकेको जानकारी दिए ।
कार्यक्रमको दोस्रो सत्रमा सिप्रेडले नै गरेको विभिन्न छ वटा परम्परागत संस्थाको अध्ययन प्रस्तुत गरिएको थियो । आङ्निमा लामा र सुनिता माझीले प्रस्तुत गरेको उक्त अध्ययनले पनि आदिवासीहरूको परम्परागत संस्थाहरूले जैविक विविधताको संरक्षण र उपयोगमा योगदान दिए पनि त्यसले मान्यता नपाउँदा लोप हुँदै गएको उल्लेख गरिएको छ । उक्त कार्यपत्रमा पत्रकार तथा अध्येयता कुमार यात्रुले टिप्पणी गरेका थिए ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …