दोस्रो लिगलिगे दौड भव्यताका साथ सम्पन्न
लिगलिगकोट । ऐतिहासिक लिगलिग कोटमा दोस्रो साइकल दौड भव्यताका साथ सम्पन्न भएको छ । पालुङटार नगरपालिकासँगको सहकार्यमा लिगलिग भिलेज स्पोर्टसले आयोजना गरेको यस दौडले लिगलिग कोटको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो ।
एक विदेशीसहित ६४ जना प्रतियोगी रहेको साइकल दौडमा खुल्लातर्फ निर्धारित ५३ किलोमिटर दूरी २ घण्टा २५ मिनेट ४८ सेकेन्डमा पार गर्दै एपीएफका सुरज राना विजेता बने भने सोही दुरी २ घण्टा २५ मिनेट ५० सेकेन्डमा पार गर्दै भारतीय सेनाका प्रकाश थापा मगर उपविजेता बने । प्रतियोगितामा एपीएफका लक्ष्मण मल्लले २ घण्टा २५ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पार गरेर तेस्रो स्थान प्राप्त गरे । खुल्लातर्फ ३६ जना प्रतियोगी सहभागी थिए ।
त्यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लबकी उषा खनालले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ५८ सेकेन्डमा, मञ्जु कुमारी खड्काले ३ घण्टा ११ मिनेट १७ सेकेन्डमा र सुनसरीकी इन्द्र कला नेम्वाङले ३ घण्टा १७ मिनेट ४५ सेकेन्डमा पुरा गरी क्रमशः प्रथम, दोस्रो र तेस्रो बने । महिलातर्फ ६ जना प्रतियोगी थिए ।
त्यसै गरी ३० वर्ष उमेर समूहमाथिको प्रतिस्पर्धामा काठमाडौँका नयन मानन्धर पहिलो, अमेरिकी नागरिक जोनथन दोस्रो र काठमाडौँका विकास मार्जन तेस्रो बने । त्यसै गरी गण्डकी प्रदेशभित्रको पुरुष तर्फ प्रकाश थापा मगर प्रथम, हिकमत बिके दोस्रो र खुसीमान घर्ती तेस्रो भए भने महिला तर्फ उषा खनाल प्रथम र केशरी थापा मगर दोस्रो भइन् । त्यस्तै पालुङटार नगरपालिका भित्रमा सुरज रानाभाट प्रथम र पार्वत रोका दोस्रो भए । पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई २० र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार तथा मेडलको व्यवस्था गरिएको थियो ।
कार्यक्रमको समापन समारोहमा पालुङटार नगरपालिकाका प्रमुख ई. दीपक बाबु कँडेलले नगरपालिकालाई साहसिक पर्यटनको केन्द्र बनाउने तथा लिगलिगकोटको ऐतिहासिकतालाई व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले साइकल दौडको आयोजना गरिएको बताए ।
”मैले नगरपालिकाको नाम नै लिगलिगकोट राख्ने प्रस्ताव गरेको थिएँ, तर त्यो पुरा हुन सकेन” उनले भने, ”मलाई विश्वास छ, लिगलिगकोटको ऐतिहासिक महत्व सबैले बुझ्ने छन् र एक दिन यो नगरपालिकाको नाम लिगलिग कोट हुने छ ।”
लिगलिग कोटबाट सुरु भएको साइकल दौड आँप पिपल भन्ज्याङ–हर्मी भन्ज्याङ–मुकुन डाँडा-आँपपिपल अस्पताल–वनटार–भण्डारथोक–चेपेपुल–गरमबेसी–चेपेघाट दोभान–हवाइग्राउण्ड–तालपोखरी–कालमाटा–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइटेल–वटडाँडा–बोहोरागाउँ–बिजुलीडाँडा–खोल्ल हुँदै पुनः लिगलिग कोटमा आएर टुङ्गिएको थियो । यसले लमजुङको राइनास नगरपालिका र गोरखाकै सिरानचोक गाउँपालिकालाई पनि छोएको छ ।
स्पोर्टसका अध्यक्ष सञ्जीव रानाले सबैको साथ सहयोगले दोस्रो वर्ष पनि लिगलिगे साइकल दौड आयोजना सम्पन्न गर्न सफलता मिलेको उल्लेख गर्दै अगामी दिन पनि निरन्तरता दिने बताए ।
प्रतियोगितामा सहभागी अमेरिकी नागरिक जोनाथनले दौड पुरा गर्न सक्दा खुसी लागेको बताए । उनले लिगलिगे साइकल दौडको भविष्य राम्रो देखेको उल्लेख गर्दै समग्रमा नेपालमा माउन्टेन बाइकिङप्रति आकर्षण बढेको उल्लेख गर्दै भविष्य उज्ज्वल देखेको बताए ।
कार्यक्रमलाई गण्डकी प्रदेशको खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय, मुख्य मन्त्रीको कार्यालय, गोरखाको सिरानचोक गाउँपालिका, गोरखा नगरपालिका, लमजुङको राइनास नगरपालिका, नेपाल पर्यटन बोर्डलगायतले सहयोग गरेको थियो । साइकल दौड प्रतियोगिता फागुन ७ मा गर्ने योजना रहेपनि कोभिड १९ को महामारीका कारण चेत ४ गते सरेको थियो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …