यस वर्षको बसन्त ऋतुमा आरोही बढ्ने संकेत, १३५ जनाले लिए अनुमति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आरोहणको चाप बढ्ने देखिएको छ । आरोहण सिजन सुरु भएसँगै पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन् । मंगलबारसम्म १२ वटा हिमालका लागि १८ आरोहण दलका एक सय ३५ जनाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार अनुमति लिनेमध्ये १ सय ३ जना पुरुष र ३२ जना महिला छन् । उनीहरुबाट तीन करोड ५८ लाख रुपैयाँ रोयल्टी संकलन गरिएको विभागले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । मंगलबारसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै अन्नपूर्ण १ हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ६ जना पुरुष र तीन जना महिला गरी नौ जनाले अनुमति लिएका छन् ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष आरोहण बन्द थियो भने गत वर्ष आरोहीको संख्या उल्लेख रहेपनि बढि सगरमाथामा केन्द्रित थियो । तर यस वर्ष नेपालमा कोरनाका कारण लगाइएका बन्देजहरु फुकुवा भइसकेको हुँदा पर्वतारोहण तथा पर्वतीय पदयात्रामा आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
सहजीकरणको लागि समिति
पर्यटन विभागले यस वर्षको हिमाल आरोहणको सहजीकरणको लागि भन्दै विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा समिति गठन गरेको छ ।
प्रमुख नापी अधिकृत तथा आरोही खिमलाल गौतमलाई सदस्य सचिव बनाइएको समितिका सदस्यहरुमा नेपाली सेनाका सेनानी किशोर अधिकारी, प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे, सगरमाथा आरोही संघका निशा अधिकारीका साथै हिमालयन उद्धार संघ र सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट एक–एक जना प्रतिनिधि राखिएको छ ।
समितिले पर्वतारोहणसम्बन्धी गतिविधिहरुलाई थप नियमित, मर्यादित र व्यवस्थित गर्नका लागि समन्वय र सहजीकरण गर्ने जनाइएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …