पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, पाठकलाई अभिनन्दन, हिमालयनको एयरबस अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतवबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । पाँच दशकअघिको पोखरेलीले देखेको सपना सपना पूरा भएको हो । यस खुसियालीमा अमरसिंह चौरमा भेला भएका पेसागत संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, कलाकार र सर्वसाधारण ब्यानर र झाँकीसहित विमानस्थल पुगेका थिए ।
पोखरामा बनेको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयरबस ३२० पनि नमुना उडानस्वरूप दिउँसो पोखरा विमानस्थलमा अवतरण गरेर यसको सुरुवात गरिएको हो । विमान अवतरणसँगै पुष्प बृष्टी गरिएको हो ।
पाठकलाई नागरिक अभिनन्दन
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्ने तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।
पोखरा महानगरपालिकाले ९१ वर्षीय पाठकलाई अमरसिंह चौरदेखि विमानस्थलसम्म रथारोहणसहित अभिनन्दन गरेको हो । विमानस्थल उद्घाटनअघि हजारौँ पोखरेलीको सहभागितामा रथारोहण गरिएको हो । पोखरामा विसं २०२९ देखि २०३४ सम्म अञ्चलाधीश रहेका पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर पोखरा–१४ को छिनेडाँडामा त्यसबेला तीन हजार रोपनी जमिन अधिग्रहण गरेका थिए । साथै आधुनिक पोखराको खाका तयार गरेको श्रेय पनि उनलाई जान्छ ।
जग्गा अधिग्रहणको ४७ वर्षपछि बल्ल पोखरामा अन्तर्राष्ट्रिय विमान निर्माण सम्पन्न भएको हो । सो खुशीयालीमा महानगरले पाठकलाई सम्मान गरेको महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पाँच दशकअघि परिकल्पना गर्नुहुने तत्कालीन अञ्चलाधीश पाठकलाई उहाँको योगदानको कदरस्वरूप अभिनन्दन गरेका हौँ । अर्का परिकल्पनाकार इञ्जिनीयर पदमबहादुर खत्री देशबाहिर रहेकाले उपस्थित गराउन सकेनौँ ।”
विमानस्थलका परिकल्पनाकार पाठकलाई उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कदरपत्रबाट सम्मान गरे । पोखरामा जमिन अधिग्रहण गरिएको ४७ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । विमानस्थलको उद्घाटन समारोहमा हजारौँ पोखरेलीले सहभागिता जनाएका थिए । विमानस्थल उद्घाटनसँगै आन्तरिक उडान सोही विमानस्थलबाट सञ्चालन भएका छन् ।
हिमालय एअरलाइन्सको एअरबस अवतरण
हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक अवतरण गरेर उद्घाटन गरियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आज दिउँसो १ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौँबाट उडान भरेर १ बजेर ४४ मिनेट हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
हिमालय एअरलाइन्स्को यो एअरबस पोखरामा अवतरण गर्ने पहिलो एअरबससमेत बनेको छ । यो विमान ९एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । त्यसपछि विमान आजै ३ बजेर ४४ मिनेटमा पोखराबाट उडान भरेर चार बजेर १७ मिनेटमा काठमाडौँमा अवतरण गरेको थियो ।
पोखरामा नवनिर्मित अन्तरराष्ट्रिय विमानस्थलको आइतबार उदघाटन समारोहमा आफनो जातिय पहिरनसहित सहभागी युवतीहरु । तस्बिर ः कृष्ण दवाडी, रासस
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको उदघाटनमा उत्साहपूर्वक आएका सर्वसाधारण । तस्बिर ः राधिका कँडेल, रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …