March 2, 2023

उच्च पहाडी पदमार्गमा ‘भेडिगोठ सेल्टर’ अवधारण

लमजुङको दोर्दी गाउँपालिकाले उच्च पहाडी भागको पदमार्गहरुमा ‘भेडिगोठ सेल्टर’ विकासको अवधारण अघि सारेको छ । मानव बस्ती नभएका र होटलहरु नरहेको आफ्नो गाउँपालिकाभित्रका पदमार्गहरुमा रहेको भेडिगोठलाई आधारभूत सुविधाहरुसहित सेल्टरको रुपमा विकास गर्ने अवधारण अघि सारेको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । “गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा रहेका यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुनेमा विश्वास छ”, उनले भने ।

युवराज अधिकारी, अध्यक्ष–दोर्दी गाउँपालिका

उनका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भइ इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ । साथै नौथरसेराबाट इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा आठ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलम पोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा, बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेंसीशहरसम्मको ११ दिनको पदयात्रा गर्न सकिन्छ ।

अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालिगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढीलगायत हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । जसमा हालसम्म पोखरी पुनःसंरचनाका साथै पदमार्गको पहिचान, प्रचारप्रसार तथा भेडिगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको छ ।

पर्यटन व्यवसायी राजेन्द्र वस्तीले लमजुङ पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको जिल्ला भएको र त्यसमा पनि दोर्दीमा पदमार्गको राम्रो र नयाँ सम्भावना रहेको बताए । उनले उक्त पदमार्गमा एक हजार नौ सय मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पुग्न सक्ने बताए । उनले केही समयअघि टानको सहकार्यमा पदमार्गको नक्साङ्कन तथा प्रचारप्रसारको प्रयास भइरहेको जानकारी पनि दिए ।

यी पर्मागहरुबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ । इलमपोखरी लगायतका धार्मिक तथा ऐतिहासिक महत्वको यस क्षेत्रको अवलोकन गरि धार्मिक पर्यटन तथा ट्रेकिङको मज्जा लिन सकिन्छ ।

तस्बिरहरु: बिष्णुकान्त घिमिरे ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …