April 5, 2023

दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

फाइल फोटो : हरि बुढा मगर सगरमाथा आधार शिविरमा ।

दुवै खुट्टाको घुँडाभन्दा तल नभएको हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पूर्वगोरखा सैनिकसमेत रहेका उनी सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर आधारशिविर तर्फ गएका छन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिएका थिए । बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन् ।

लामो प्रतिक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको उनले बताएका छन् ।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उनी पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले मोन्ट ब्लाङ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन् ।

वसन्त ऋतुका बेला सगरमाथासहित हिमाल तथा चुली आरोहणका लागि अहिले धमाधम आरोहीले आरोहण अनुमति लिइरहेका छन् । विभागको पवर्तारोहण शाखाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मङ्गलबारसम्म १२ आरोही समूहका १७ महिला र ८३ पुरुषसहित एक सय आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि हालसम्म ३६ आरोही समूहका ५३ महिला र दुई सय १७ पुरुषसहित दुई सय ७० ले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

सगरमाथापछि अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच, मनास्लु आरोहणका लागि चार र ल्होत्से आरोहणका लागि तीन आरोही समूहले हिमाल आरोहणको अनुमति लिएका छन् ।

 

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …