भ्रमण वर्ष आइसक्यो, तयारी भने न्यून
- समुन्द्रा घिमिरे
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन अव छ महिना मात्र बाँकी छ । सरकारले करिब २ वर्ष अघि नै यस अभियान अन्तर्गत २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो । तर, तयारी हेर्दा लक्ष्य पुरा हुनेमा आशंका उब्जिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नै पूर्णता पाएको छैन । कार्यालयमा टेलीफोन जोडिएको छैन । भ्रमण वर्षका बारेमा जानकारी दिन वेवसाइड समेत बनेको छैन । सुरुमा पर्यटन बोर्डमै रहेको सचिवालय साँघुरो भएको भन्दै गत बैशाखमा केशर महल सारिए पनि त्यहाँ जम्मा चार जना कर्मचारी छन् । उनीहरुले समेत काम पाएका छैनन् ।
सचिवालयमा फोन नहुँदा सामान्य कामहरु समेत हुन नसकेको पर्यटन व्यवसायीको गुनासो छ । अहिले आएर भ्रमण वर्षको लागि एक वर्ष मात्र काम हुने भन्दै वेवसाइट नै नबनाउने मनस्थितीमा सचिवालय देखिएको छ ।
सचिवालयका प्रशासन प्रमुख निलमकुमार न्यौपाने भ्रमण वर्षको कार्यक्रम सकिएपछि वेवसाईटको जिम्मा कस्ले लिने भन्ने कुरा आएपछि पर्यटन बोर्डकै वेव साइटमा सव–डोमेन राखेर काम गर्न लागिएको बताउँछन् । तर, त्यो समेत आझै तयार भएको छैन । विशेषत विदेशी पर्यटकले जानकारी लिने भनेकै वेवसाईटबाट हो ।
पर्यटन व्यवसायीहरुका अनुसार अधिकांश पर्यटकको भ्रमण तालिका निक्कै अघि बन्ने गर्दछ । खर्चको जोहो, घुम्ने स्थानको पहिचान तथा त्यसमा हुने सुविधाहरुका बारेमा उनीहरु धेरै अघिदेखि सोधखोज गर्छन् । तर, भ्रमण वर्ष सुरु हुन छ महिना मात्र बाँकी रहेको अवस्थामा समेत न्यून तयारी हुँदा लक्ष्य पुरा हुनेमा पर्यटन क्षेत्रका व्यक्तिहरु आशंका व्यक्त गर्छन् ।
ढिलो भइरहेको भ्रणम वर्षको तयारीमा गत फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि मन्त्रालयको समेत प्राथमिकतामा पर्न सकेको छैन ।
कार्यविधिमा भ्रमण वर्ष मूलआयोजक समितिको संयोजक पर्यटनमन्त्री रहने व्यवस्था छ । तर चार महिनादेखि पर्यटन मन्त्री छैनन् । नेपाल पर्यटन वर्ष २०२० को कार्यविधि मन्त्रिपरिषदले गत फागुन २७ गते पारित गरेको थियो । कार्ययोजना पारित भएको चार महिनासम्म पनि सचिवालयले पूर्णत पाएको छैन ।
सचिवालयमा २५ जना कर्मचारीको रहने उल्लेख गरिएपनि हालसम्म मन्त्रालयबाट २ र पर्यटन बोर्डबाट २ जना कर्मचारी सचिवालय पुगेका छन् ।
‘हामी अहिले आन्तरिक तयारीमा जुटेका छौं । तयारी सकिएपछि देखिने काम धेरै हुन्छ’ न्यौपाने भन्छन् । उनले दिल्लीवाट भ्रमण वर्षको कार्यक्रमको सुरुवात गरिसकेको समेत दावी गरे । कर्मचारी भर्ना, नयाँ बस खरिद लगायतका प्रक्रिया सुरु भएपनि उनले बताए ।
तर, पर्यटन व्यवसायीहरु भने तयारी सोचे अनुसार हुन नसकेको गुनासो गरेका छन् । होटल एसोसिएशन अफ नेपाल (हान) का वरिष्ठ अपाध्यक्ष विनायक शाह भ्रमण वर्षको यही अनुरुपको तयारीले सोचे अनुसारको पर्यटक भित्र्याउन चुनौती रहेको बताउँछन् । उनी २० गन्तब्य छनौट गर्ने भनिएतापनि अझै हुन नसकेको बताउँछन् ।
शाहका अनुसार चिनियाँ र भारतीय पर्यटकको आवगमन बढेपनि उनीहरुको बसाई लम्ब्याउने कुनै कार्यक्रम नभएको बताए । साथै २० लाख पर्यटकको लागि पूर्वाधारसमेत तयार नभएको उनको भनाई छ ।
ट्रेकिङ एजेन्सिज् एशोसिएसनअफ नेपाल (टान) का अध्यक्ष नवराज दाहलको पनि उस्तै गुनासो छ । सरकारले भ्रमण वर्षको लागि बजेटसमेत नछुट्याएको बताए । सरकारले पर्यटक आकर्षणका लागि भिषामा सहुलियत, पदयात्रा परमिट, इ–भिषालगायतका कामका लागि बजेटमा सम्बोधन गरेन ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…