July 1, 2019

भ्रमण वर्षको प्रमुख औजार हुनुपर्ने निगम ऋणको भासमा : प्रधानमन्त्री

Prime minister KP Oli inaugurated NAC 61st Birthday
प्रधानमन्त्री केपी ओली शर्मा नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्वस उद्घाटन गर्दै । तस्बिर : समु्न्द्रा घिमिरे/हाइलाइट्स टुरिजम ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० सफलताको मुख्य औजार राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगम हुनुपर्नेमा उल्टै ऋणको भारी बोकेर बसेको भन्दै आक्रोश पोखेका छन् ।

पर्यटन क्षेत्रको विकासको लागि राष्ट्रिय ध्वजा वाहक विमानको उपस्थित महत्त्वपूर्ण हुने बताइरहेको बेला निगम स्थापनाको ६१ औँ वार्षिकोत्सवको अवसरमा पारेर प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

पर्यटन क्षेत्रबाट विभिन्न देशबाट नेपाल आउने उडान महँगो भएकोले पर्यटकको सङ्ख्यामा आशातीत रूपमा बढ्न नसकेको गुनासो आउने गरेको छ ।

निगम स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले १७ घण्टा उडान क्षमता भएको वाईडबडी जहाजले सवा घण्टा मात्रै उडान गरेको भन्दै लामो दुरीको उडान गन्तव्य छिटोभन्दा छिटो छनौट गर्ने समेत निर्देशन दिए । साथै नेपाली भाषी भएका देशमा उडान गन्तव्य थप गर्नु पर्ने समेत बताए ।

‘स्थापनाको ६१ औँ वर्षमा आउँदाको प्रगति ३७ अर्व ऋण हुनु राम्रो भएन’ प्रधानजमन्त्री ओलीले आक्रोशित हुँदै भने, ‘यो ऋण निगमका विमानले बनाएका हैनन्, व्यवस्थापन पक्षकै कारण यतिको ऋण भएको हो । व्यवस्थापन र सञ्चालन पक्ष पारदर्शी हुनुपर्छ, व्यवस्थापन पक्ष राम्रो छैन, यस्तो अवस्था नसुध्रिएसम्म सरकारले ऋण दिँदैन ।’

उनले साग बेच्ने व्यापारीले तिरेको करबाट निगमलाई सधैँ ऋण दिन नसकिने भन्दै व्यवस्थापन पक्षलाई दिर्घकालीन योजना बनाएर मात्रै ऋण माग गर्न आग्रहसमेत गरे ।

सम्बोधन अवधिभर निगम व्यवस्थापनमाथि आक्रोशित भएका उनले व्यावसायिक योजना विनै विमान खरिद गरेर ल्याएपछि विमानस्थलमै घाम तपाउँदै राखेको बताए ।

खरिद गरी ल्याएको १ वर्षपछि उडान हुन लागेको जापानको ओसाकामा भन्दा नारितामा उडानको छिटो तयारी गर्न समेत उनले व्यवस्थापन पक्षलाई निर्देशन दिए ।

‘निगम नाफा कमाउने संस्था हो, यही व्यवसायबाट अरूले नाफा गरिरहँदा निगमले किन सकेन ?’ प्रधानमन्त्रीको प्रश्न थियो । व्यवस्थापन चलाउन नसक्ने हो भने सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उल्लेख गर्दै व्यवस्थापनलाई पूर्ण अधिकार रहेको बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…