July 4, 2019

हिमालय एयरलाइन्लले अंशिक बक्यौता बुझायो, अझै २२ करोड बाँकी

Himalayan Airlinesकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमान ग्राउण्डेड गर्ने चेतावनी दिएपछि नेपाली र चिनियाँ लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले बक्यौता रकम बुझाएको छ ।

हिमालयले एकै पटक ५ करोड १० लाख रुपैयाँ भुक्तानी गरेको हो । यसअघि ५०/६० लाखका दरले मात्र रकम भुक्तानी गर्दै आएको हिमालयले विमानस्थल कार्यालयको चेतावनीपछि बक्यौता बुझाएको हो ।

वायुसेवा कम्पनीहरूले विमानस्थल कार्यालयलाई विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई पारवहनलगायतमा शुल्क तिनुपर्छ। उक्त शीर्षक बापत विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने बक्यौता रकम हिमालयले डेढ वर्षदेखि बुझाएको थिएन ।

शुल्कमा जरिवाना समावेश गरेर २६ करोड रुपैयाँ भुक्तानी बाँकी थियो । ५ करोड भुक्तानी पछि हिमालयले विमानस्थल कार्यालयलाई करिब २२ करोड भुक्तानी गर्नुपर्ने हुन्छ ।

गम्भीर आर्थिक सङ्कटमा परेको हिमालयले एउटा एयरबस ३२० भाडामा दिएपछि नियमित रूपमा किस्ता भुक्तानी गर्ने भन्दै बक्यौता रकम भुक्तानी गरेको थिएन ।

विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार नियमित शुल्कसँगै मासिक डेढ करोड रुपैयाँ भुक्तानी गर्ने गरी जहाज उडाउन दिइएको हो । विमानस्थल कार्यालयले असार २८ गतेसम्म पुरानो बक्यौता रकम भुक्तानी नगरे जहाज ग्राउण्डेड गर्ने चेतावनी दिएको छ ।

यसअघि पटक/पटक बक्यौता भुक्तानी गर्ने बताएपनि थोरै मात्रा बुझाउँदै आएको थियो ।

आर्थिक घाटामा सञ्चालन भइरहेको हिमालयले गत जेठ ४ देखि एक वर्षका लागि एउटा एयरबस ३२० भियतनामको बेम्बो एयरवेजलाई भाडामा दिएको छ । हाल हिमालयसँग २ वटा मात्रै विमान छन् ।

सन् २०१४ सालमा स्थापना भएको हिमालयले अन्तर्राष्ट्रिय उडान मात्रै गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानमा ४ देशका ५ सहर मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, युएईको दुबई र कतारको दोहामा उडान गर्दै आएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…