‘भ्रमण वर्षका बेला सगरमाथा आरोहण बन्द गर्ने कुरा मूर्खतापूर्ण’
काठमाडौँ । नेपाल भ्रमण वर्षकै बेला सगरमाथा आरोहण बन्द गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष पुगेको खबरले पर्यटन व्यवसायीहरुबीच तरङ्ग छाएको छ । उनीहरूले भ्रमण वर्ष २०२० मै सगरमाथा आरोहण बन्द गर्ने कुरा गर्नु ‘मूर्खतापूर्ण’ हुने बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने मन्त्रालयमा कतैबाट पनि आरोहण बन्द गर्नुपर्ने कुरा नआएको बताए । उनले मन्त्रालय सगरमाथा आरोहण बन्द गर्नु पर्छ भन्ने पक्षमा नरहेको पनि उल्लेख गरे । ‘पर्यटक आउने मुख्य केन्द्र नै बन्द हुँदा कसरी सरकारको २० लाख पर्यटक भित्र्याउने योजना सफल हुन्छ ?’ उनको प्रश्न थियो ।
बिहीबार एउटा अनलाइनले नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले उक्त प्रस्ताव प्रधानमन्त्री समक्ष लगेकोमा अस्वीकृत भएको समाचार प्रकाशन गरेको थियो । शुक्रवार रातीसम्म वैद्यले वा भ्रमण वर्ष सचिवालयले त्यसको खण्डन गरेको छैन । यसअघि पनि उनले सार्वजनिक रूपमै उक्त कुरा बताउने गरेको कतिपय व्यवसायीको गुनासो छ ।
यसै सन्दर्भमा हाइलाइट्स टुरिजमले पर्यटन व्यवसायीका प्रतिनिधि संस्थाहरूका पदाधिकारीहरूसँग यस विषयमा कुराकानी गरेको थियो । अधिकांशले संयोजक वैद्य एक्लैले यस्तो प्रस्ताव लैजान नसक्ने र लगेको भए त्यो ‘मूर्खता’ हुने बताए ।
सगरमाथा आरोहण बन्द गर्ने कुरा मूर्खतापूर्ण : कुलबहादुर गुरुङ, महासचिव, नेपाल पर्वतारोहण सङ्घ
नेपाल भ्रमण वर्ष २०२० नजिक आउँदै गर्दा यस्ता म्यासेजले झनै नराम्रो असर पार्छ । त्यसै त अन्तर्राष्ट्रिय स्तरमा सगरमाथामा फोहोर भएको, ट्राफिक जाम भएको लगायतका विषयमा गतल प्रचार भइरहेको छ । आरोहण नै बन्द गर्नुपर्ने कुराहरू बाहिर आउँदा यसले थप गलत प्रचार हुन्छ । सगरमाथाको सफाइदेखि ट्राफिकको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतर्फ लाग्नुको सट्टा पर्यटकको आकर्षण विन्दु नै बन्द गराउने भन्ने कुरा आफैमा मूर्खता बाहेक केही होइन । यसले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनामा त असर पर्छ नै दीर्घकालीन रूपमा पनि नेपालको पर्यटन क्षेत्रमा असर पुग्छ ।
तर्क नै गलत छ : नवराज दाहाल, अध्यक्ष, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल
भ्रमण वर्ष नजिक आउँदै गर्दा पर्यटकको मुख्य आकर्षणका रूपमा रहेको सगरमाथा आरोहण बन्द गर्ने भन्ने तर्क नै गलत छ । एक त राष्ट्रिय संयोजकले आरोहण नै बन्द गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष लगेको कुरामा मेरो विश्वास छैन । भ्रमण वर्ष मूल आयोजक उपसमितिको बैठकले यस्ता कुनै कुराको निर्णय गरेको छैन, हल्ला मात्रै हो । बरु सगरमाथा मात्र होइन ८ हजार माथिका सम्पूर्ण हिमाल आरोहणका लागि अनुमति दिने क्रमलाई कडाइ गर्नुपर्छ । तालिम प्राप्त गाइड र आधुनिक उपकरणका साथमा आरोहणको तयारी गर्नुपर्छ । आरोहण अनुमति सबैलाई दिने तर अन्य कुरामा ख्याल नर्गदा सगरमाथाको नाममा अनेकन् हल्ला फैलिएको हो । बन्द हैन अनुमति दिने क्रममा कडाइ गरे पुग्छ ।
वैद्यले यो प्रस्ताव लगेको होइन : विनायक शाह, उपाध्यक्ष, होटेल एसोसिएसन नेपाल
भ्रमण वर्ष संयोजक वैद्यले सगरमाथा आरोहण नै बन्द गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष लग्नु भएको छैन । उहाँ एक्लैले गर्ने निर्णय पनि होइन । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गर्ने निर्णय हो । सरकारले के गर्दा राम्रो हुन्छ त्यही अनुसार निर्णय गर्छ । नेपालमा कसरी बढी मात्रामा पर्यटक ल्याउन सकिन्छ भन्ने तर्फ लागेका वैद्यले यस्तो निर्णयको प्रस्ताव लैजाने कुरै हुँदैन ।
गलत कुरा : सिएन पाण्डे, अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स
सगरमाथा आरोहण बन्द गराउने भन्ने कुरा सरासर गलत हो । विश्वकै अग्लो शिखर सगरमाथा हेर्नका लागि विदेशी आउँदैनन्, सगरमाथा आरोहण गर्नका लागि आउने हो । सफाईसगैँ आरोहण खुल्ला राख्नु पर्छ ।
बन्द गर्नु राम्रो तर भ्रमण वर्षका बेला होइन: धुव्र सिंखण्डा, अध्यक्ष गाउँ पर्यटन प्रबन्ध मञ्च, नेपाल
सगरमाथा आरोहण बन्द गर्नुपर्ने अवस्था आएको छ । अन्तर्राष्ट्रिय मिडियामा सगरमाथाको उचाइ नै गिराउने गरी गलत प्रचार हुँदा एक वर्ष आरोहण नै बन्द गरी सफाइ गर्नु अति आवश्यक भएको छ । तर, भ्रमण वर्षको शुभारम्भ हुँदै गर्दा यो वर्ष बन्द हैन कसरी धेरै पर्यटक नेपाल भित्र्याउन सकिन्छ त्यो तर्फ सबै जना लाग्नु पर्छ । यस वर्ष धेरै पर्यटक भित्र्याएर अर्को वर्ष सगरमाथा आरोहण बन्द गरी सफाइ गर्नु उचित हुन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…