१४ हिमालको ९ सय ६७ द्वारा सफल आरोहण, १६ को मृत्यु, साढे ४८ करोड रोयल्टी उठ्यो
काठमाडौँ । पर्यटन विभागले दिएको पछिल्लो विवरण अनुसार गएको सिजनमा १४ हिमालको ९ सय ६७ जनाले आरोहण गरेका छन् भने १६ जनाको मृत्यु भएको छ ।
सबै भन्दा धेरै ६ सय ४४ जनाले सगरमाथाको आरोहण गरेका छन् भने कुल ४९ करोड ५९ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । यो रोयल्टी विभागले आरोहण अनुमति दिएको ३२ हिमालबाट उठेको हो । सफल आरोहण भने १४ हिमालमा मात्रै भयो ।
कुल १४ हिमालमा सफल आरोहण गर्ने मध्ये १ सय ५ महिला र ८ सय ६२ पुरुष आरोही छन् ।
विभागकी निर्देशक मीरा आचार्यका अनुसार विभिन्न १४ हिमाल आरोहणका लागि अनुमति दिइएको १ सय १५ टिम मध्येमा ७८ टिमले सफल आरोहण गरेका हुन् ।
सफल आरोहण गरिएका १४ हिमालहरू सगरमाथा, ल्होत्से, मकालु, धौलागीरि, कञ्चनजंघा, आमादब्वलम्, अन्नपूर्ण, छोपाबामारे, ग्याल्जेन, पुमरीलगायतका छन् । सरकारले आरोहणका लागि हालसम्म ४ सय १५ हिमाल खुला गरेको छ भने अझै आरोहण योग्य १३ सयभन्दा बढी हिमाल खुल्ला गरिएको छैन ।
विभागबाट सगरमाथा आरोहणका लागि अनुमति लिएका ४८ देशका ३ सय ८१ आरोही मध्येमा २ सय ६७ आरोहीले मात्रै सफल आरोहण गरे । उनीहरूका साथमा ३ सय ६४ शेर्पा गाइडले पनि आरोहण गरेका छन् । आरोही र गाइड गरी यो सिजनमा सगरमाथामा ५ सय ७७ पुरुष र ६७ महिला आरोही पुगेका थिए ।
त्यस्तै सगरमाथा पछि धेरै आरोहीले आरोहण सफल गरेको हिमाल मकालु हो । मकालु हिमाल आरोहणको अनुमति लिएका ५३ आरोही र शेर्पा गाइड गरी ६७ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
सगरमाथा आरोहणका लागि अनुमति लिएका विदेशी र नेपाली आरोहीहरूबाट मात्रै ४४ करोड २४ लाख ३७ हजार ८६२ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । गएको सिजनमा सगरमाथासहित ३२ हिमालबाट सरकारलाई ४९ करोड ५९ लाख ८६ हजार ६२२ रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
झुठो विवरणको टुङ्गो छिटै लाग्ने
सगरमाथा आरोहण नै नगरी सफल आरोहण गरेको भन्दै विभागमा निवेदन दिएका ४ आरोहीको ‘झुठो विवरण’ छिट्टै टुङ्गो लाग्ने भएको छ ।
उनीहरूले विभागमा सगरमाथाको सफल आरोहण गरेको भन्दै कागजात पेस गरेका थिए । उनीहरूको आरोहण व्यवस्थापन गरेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडले विभागमा कागजपत्र बुझाउन नसक्ने भने पछि ‘नक्कली फोटो’ बुझाएको भन्दै फोटोलगायतका आवश्यक थप कागजपत्र बुझाउन विभागले आरोहीहरूलाई समय दिएको थियो ।
विभागले दिएको थप समयमा उनीहरूले कुनै पनि कागजपत्र बुझाएका छैनन् । ती ४ आरोहीको विषयमा केही दिनमा नै टुङ्गो लगाउने विभागले जनाएको छ ।
झुठो विवरण बुझाउने आरोहीहरूमा यूएईकी खादिजा मोहम्मद अलि, भारतका शोभा बनवाला, विकास राना र अङ्कुश हुन् ।
१६ आरोहीको मृत्यु
गएको सिजनको हिमाल आरोहणमा गएका मध्येमा ४ हिमालमा १६ आरोहीको मृत्यु भएको छ । विभागका अनुसार सगरमाथा आरोहणका क्रममा ८, मकालु हिमाल आरोहणमा ४, कञ्चनजंघा हिमाल आरोहणमा ३, ल्होत्से आरोहणमा १ आरोहीको मृत्यु भएको हो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…