नेपाल वायुसेवा निगमको व्यवस्थापन करारमा विदेशीलाई दिने तयारी
काठमाडौँ । ऋणमा डुबेको राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन विदेशी कम्पनीलाई दिने तयारी सुरु भएको छ । सुरुमा अपरेसन विभाग, इन्जिनियरिङ र बजार व्यवस्थापन ( मार्केटिङ) विभागलाई करार दिन लागिएको हो ।
यसका लागि ग्लोबल टेन्डर आह्वानको तयारी गर्न ७ सदस्यीय समिति समेत गठन गरेको छ । उक्त समितिले आवश्यक कागजपत्र र प्रक्रिया पूरा गरेपछि निगम व्यवस्थापनले प्रस्ताव बोर्डमा लैजाने छ ।
तयारी समितिमा निगममा विज्ञका रूपमा रहेका राजुवहादुर केसीको नेतृत्वमा विभिन्न विभागका प्रमुख रहेका छन् । उक्त समितिले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको समेत जनाएको छ । अबको केही दिनमा नै व्यवस्थापन करारमा दिने ग्लोबल टेन्डरको प्रस्ताव सञ्चालक समितिमा पठाइने निमग स्रोतले जनायो ।
ऋणमा डुबेको निगमको व्यवस्थापन सुधारेर अगाडि लैजाने उद्देश्यले विदेशी साझेदार (व्यवस्थापन करारमा) भित्र्याउन लागिएको बताइएको छ । निगमका सह प्रवक्ता नवराज कोइरालाका अनुसार व्यवस्थापन विदेशीलाई करारमा दिने तयारी धेरै पहिला देखिको हो । तर, निगमको वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको व्यवस्थापन विदेशीलाई दिन सकिने बताएपछि प्रक्रिया अघि बढेको बताइएको छ ।
बोर्डको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले अनुमति दिएपछि ग्लोबल टेन्डर आह्वान गरिने छ । कोइरालाले विदेशी व्यवस्थापक भित्र्याउने सम्बन्धमा बोर्डले निर्णय गरेपछि निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा अनुमतिका लागि पठाइने बताए ।
सुरुमा मुख्य विभागहरू विदेशीलाई जिम्मा दिन लागिए पनि पछि सम्पूर्ण व्यवस्थापन नै विदेशीलाई सुम्पने तयारी निगमको छ । रणनीतिक साझेदारका रूपमा सम्पूर्ण व्यवस्थापन विदेशीलाई सुम्पँदा प्रतिफल प्राप्त गर्न केही समय समेत लाग्न सक्ने निगम स्रोतको भनाई छ ।
निगमसँग हाल दुई वटा वाइड बडी ए ३३०–२००, दुई वटा ए ३२०–२०० न्यारोबडी विमान छ भने त्यसले ६ देशका ८ गन्तव्यमा उडान भर्दै आएका छन् । आन्तरिकतर्फ दुई वटा एम ६०, चार ओटा वाई १२ र तीन ओटा डीएसी सहित ६ विमानबाट २२ ओटा विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ ।
निगमले दुई वटा वाइड बडीको विमान भित्र्याएपनि त्यसको गन्तव्य तय गर्न नसक्दा थप घाटमा गएको हो । हाल निगमको ऋण ३७ अर्व नाघिसकेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…