टानको गोरखा म्याराथन दोस्रो पटक सारियो, पुरस्कार राशि बढाइयो
काठमाडौँ । महाभूकम्पपछि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल (टान) ले गर्दै आएको म्याराथन यस वर्ष दोस्रो पटक सारिएको छ । यो चौथो म्याराथन भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकदेखि लिगलिगसम्मको गर्ने निर्णय भएको छ ।
टानले गत जेठमा गर्ने भनेर तय गरेको भए पनि त्यसलाई साउन २५ गते सारिएको थियो । तर, बर्खामा उपयुक्त नहुने भन्दै पुन: सारिएको हो । मिति नतोकिउ पनि वर्ल्ड टुरिजम डेका दिन गर्न सकिने बताइएको छ ।
‘कार्य व्यस्तताले जेठ महिना भित्रमा सम्पन्न गर्न नसकेपछि हामीले अगस्ट १० (साउन २५) मा गर्ने तयारी गरेका थियौँ । मध्य बर्खाको समय भएकाले अगस्टमा पनि सम्पन्न नहुने भयो’ टानका अध्यक्ष नवराज दाहालले भने ।
२०७२ मा गएको महाभूकम्पपछि टानले म्याराथन आयोजना गर्दै आएको छ । पहिलो, दोस्रो र तेस्रो म्याराथन लाङटाङ क्षेत्रमा गरेको टानले चौथो म्याराथन भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक देखि लिगलिग कोटसम्म ४२ किलोमिटरको दुरीमा गर्ने निर्णय गरेको थियो ।
सोमबार बसेको टान बैठकले अगस्ट १० मा गर्ने तयारी भएको म्याराथन सम्पन्न गर्न नसक्ने भन्दै मौसममा सुधार आएपछि मात्रै गर्ने निर्णय गरेको छ ।
अध्यक्ष दाहालका अनुसार अगस्ट १० मा म्याराथन गर्ने तयारी गरी स्थान अवलोकन गर्न गएको टोलीले बर्खामा सम्भव नहुने प्रतिवेदन बुझाएपछि केही समयका लागि स्थगित गरिएको हो ।
‘मौसमले गर्दा तोकिएको समयमा सम्पन्न गर्न सकिएन, सम्भवतः हामीले वर्ल्ड टुरिजम डे ( सेप्टेम्बर २७) मा म्याराथन गर्छौँ ‘ उनले भने ।
टानले चौथो म्याराथनको पुरस्कार राशीमा समेत वृद्धि गरेको छ । गत वर्ष महिला र पुरुष दुबैबाट प्रथम हुनेलाई ५० हजार रुपैयाँ नगद दिइएकोमा थियो भने यस वर्ष ३० हजार बढाएर ८० हजार रुपैयाँ पुर्याइएको छ । त्यस्तै द्वितीयलाई ३० हजार दिइएकोमा यो वर्ष ६० हजार रुपैयाँ र तृतीयलाई २० हजार दिइएकोमा ४० हजार दिने निर्णय टानले गरेको छ । महिला र पुरुष दुवैको पुरस्कार राशि बराबर रहेको छ ।
म्याराथन सहभागी हुने नेपालीले २ हजार ५ सय रुपैयाँ र विदेशीले ७५ डलर प्रवेश शुल्क बुझाउनु पर्नेछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…