August 10, 2019

भ्रमण वर्ष २०२० सफल बनाउने जिम्मा सम्पूर्ण नेपालीकोः पर्यटन मन्त्री भट्टराई

tourism minister of nepal on visit nepal 2020काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने जिम्मा सम्पूर्ण नेपालीको भएको बताएका छन् ।

शुक्रवार नेपाल भ्रमण वर्ष सचिवालयले आयोजना गरेको अन्तर्क्रियामा मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन् । सम्पूर्ण पर्यटन व्यवसायी, राजनीतिक दलका प्रमुख, विदेशस्थित नेपाली राजदूत, कलाकार, सदभावनादुतलगायत सम्पूर्ण नेपालीको दायित्व २० लाख पर्यटक भित्र्याउन सहयोग गर्नु रहेको पनि उनले बताएका हुन् ।

उनले सम्पूर्ण पर्यटन व्यवसायीलाई तीन दिन भित्र नेपालमा पर्यटन भित्र्याउने कार्ययोजनाका साथमा आफ्नो आफ्नो व्यवसाय तथा एजेन्सीले गर्ने सहयोग तथा योगदान समेटेर सचिवालयमा बुझाउन समेत आगंह गरेका छन् । सबै समेटेको पत्र पाएपछि त्यही अनुसार नयाँ कार्ययोजना बनाएर काम गर्ने उनले जनाए ।

उनले अबको तीन महिना भित्रमा काठमाडौँको टुढिखेलमा प्रधानमन्त्री केपी शेर्पा ओलीको सहभागितामा बृहत् सभा आयोजना गरी पर्यटक भित्र्याउने कार्यमा सहयोग गर्ने गरी शपथ समेत खुवाइने उनले जनाए ।

उनले नेपालमा पर्यटन विकासका लागि भौतिक पूर्वाधारको व्यवस्था सरकारले गर्ने भन्दै आवश्यक सहयोग गर्न पर्यटन व्यवसायीलाई आग्रह समेत गरे ।

मन्त्री भट्टराईले नेपालमा रहेका विदेशी राजदूत र राजदूतावासलाई पत्र पठाएर नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै सहयोग गर्न आग्रह गर्ने समेत तयारी भएको बताए । उनले आगामी जनवरी १ मा काठमाडौँ, सातै प्रदेश कार्यालय र विभिन्न विदेशमा नेपाल भ्रमण वर्ष २०२० को दीप प्रज्वलन गर्ने समेत बताए । विभिन्न देशमा गर्ने कार्यक्रममा सोही देशका प्रमुख तथा विशिष्ट व्यक्तिलाई दीप प्रज्वलन गर्न राजदूतावासलाई आग्रह गर्ने तयारी भएको समेत उनले बताए ।

उनले भ्रमण वर्षको शुभारम्भ अर्थात् डिसेम्बर ३१ भित्रमा भौरहवा विमानस्थल सम्पन्न गर्न निमार्णको जिम्मा पाएका चिनियाँ निर्माण कम्पनीलाई िनर्देशन दिएको पनि बताए । उनले बिहीबार निमार्णधिन विमानस्थलको निरीक्षण गर्दै निर्माण कम्पनीलाई निर्माणको क्रममा स्रोतको अभाव नहुने समेत आश्वासन दिएका थिए ।

उनले भैरहवा विमानस्थल निर्माण सम्पन्न पछि निश्चित समयका लागि विभिन्न एयरलाइन्स कम्पनीलाई निःशुल्क रूपमा उडान तथा अवतरण गर्न दिएर विमानस्थलको प्रवर्धन गर्न समेत सरकार तयार रहेको भन्दै सन् २०२० को सुरुवाती चरणमा विमानस्थल सञ्चालनमा आउने आश्वासन दिएका छन् ।

उक्त अन्तरक्रिया कार्याक्रममा पर्यटनसँग सम्बन्धित विभिन्न निकायका प्रमुख एवं. प्रतिनिधिहरूको उल्लेख्य रूपमा सहभागिता रहेको थियो। सहभागी व्यवसायीहरूले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने विभिन्न योजना तथा माग समरे राखेका थिए ।

कार्यक्रममा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले हालसम्म गरेका कार्यहरूको बारेमा जानकारी गराएका थिए। जसमा उनले विभिन्न देशमा नेपाल भ्रमणसँग सम्बन्धी विज्ञापन, कार्यक्रम लगायतका कामहरू समेत भएको जानकारी दिए। उनले भ्रमण वर्ष नजिकिँदै गर्दा तयारी शून्य भएको भन्दै सबैले सहयोग गर्न समेत आग्रह गरेका थिए।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…