August 19, 2019

‘एभरेस्ट’ र ‘राइनो’ होइन, सगरमाथा र गैँडा भनौँ : प्रधानमन्त्री ओली

Speaking at Civil Aviation Conference
सोमबार काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६ औँ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली । तस्बिर : प्रधानमन्त्री कार्यालय ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई ‘एभरेस्ट’ र गैँडालाई ‘राइनो’ भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका महानिर्देशकहरूको ५६ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले ‘मौलिक नाम नबिगार्न’ समेत आग्रह गरे ।

‘यो राइनो होइन, गैँडा हो गैँडा’ उनले भने, ‘यसको मौलिक नाम नबिगारौं । यो राइनो होइन ।’ उनले एक सिङे गैँडा नेपालमा मात्र पाइने पनि स्मरण गराए ।

उनले नेपाललाई सुरक्षित गन्तव्यको रूपमा पहिचान गराउनका लागि सरकारको नीति र प्रयासहरू केन्द्रित रहेको बताए । उनले नेपाल भ्रमणका लागि आउन समेत विदेशी सहभागीहरुलाई आग्रह गरे । कार्यक्रममा झन्डै चार सय विदेशी सहभागी छन् ।

साथै उनले नेपालमा हवाई सुरक्षाको क्षेत्रको क्रमिक रूपमा सुधार भएको उल्लेख गर्दै थप समस्या देखिएमा सुधारका लागि तयार रहेको पनि उल्लेख गरे । उनले भने, ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माणाधीन गौतम बुद्ध विमानस्थल समयमै सञ्चालनमा ल्याइने छ, नेपाल भ्रमण वर्ष २०२०को सबैलाई निम्तो छ ।’

Directors of Civil Aviation Authority
सोमबार काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६ औँ सम्मेलनको दृश्य । तस्बिर : प्रधानमन्त्री कार्यालय ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको हवाई सुरक्षासँग सम्बन्धित रहेका विभिन्न तहसँग छलफल भएको बताउँदै नीतिगत रूपमा सुधार हुँदै आएको बताएका थिए ।

उक्त सम्मेलनमा ४३ मुलुकका २ सय ९१ प्रतिनिधि, २६ वटा प्रवर्द्धक संस्था तथा अन्य सहभागी गरी करिब ४ सय जना विदेशीको सहभागिता रहेको नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

प्राधिकरणका अनुसार एसिया तथा प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरूको सम्मेलन यसअघि नेपालमा सन् १९७८ र १९९८ मा आयोजना गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालमा हवाई यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा आईकाओ काउन्सिलका अध्यक्ष डा. अलुमुयिवा बनार्ड अलियुलगायतले पनि सम्बोधन गरेका थिए ।

पाँच दिन चल्ने उक्त सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने बताइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…