प्रतिबन्धित हिमालहरू खुलाउने तयारीमा पर्यटन मन्त्रालय
काठमाडौँ । पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर केही प्रतिबन्धित हिमालहरू खुल्ला गर्ने तयारी भइरहेको बताएका छन् ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ् नेपाल (टान) को ४१ औँ वार्षिक साधारण सभामा शुक्रवार बोल्दै मन्त्री भट्टराईले विभिन्न हिमाली जिल्लाका प्रतिबन्धित क्षेत्रहरू पनि खुल्ला गर्ने तयारीमा रहेको जनाए ।
‘मिलेसम्म प्रतिबन्धित हिमाल खुल्ला गछौँ, नभए आंशिक मात्रामा भने पनि प्रतिबन्ध खुकुलो बनाउछौं’ उनले भने । उनले सबै जना एकजुट भएमा सन् २०२० मा २० लाख पर्यटक ल्याउन गाह्रो नभएको पनि बताए ।
उनले मुख्य समस्या पूर्वाधारको रहेको उल्लेख गर्दै त्यही कमजोर पूर्वाधारको बीचमा पनि धेरै मात्रामा पर्यटकहरू नेपाल आउने गरेको उल्लेख गरे ।
भ्रमण वर्षमै नेपाल आउने पर्यटकको सुरक्षाका लागि टुरिजम स्याटलाइट र जिपिएस सिस्टम प्रणाली लागु गर्ने तयारी समेत गरिरहेको उनले जानकारी गराए । टान र नेपाल पर्यटन बोर्डबीच विवादित रहेको टिम्सका बारेमा अर्थ मन्त्रालयसँग समन्वय भइरहेकोले छिट्टै निकास पाउने आशा व्यक्त गरे ।
सोही कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताए । साथै मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रले अटुट र प्रचुर सम्भावना बोकेको उनको भनाई थियो ।
शुक्रवार बिहान सुरु भएको टानको साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्य समिति चयन गर्दैछ । सत्तारुढ नेकपाको तर्फबाट अञ्जन कुमार थापा र प्रतिपक्ष काँग्रेसको तर्फबाट खुमबहादुर सुवेदीको नेतृत्वमा समूह बनाएर उम्मेदवारी दिएका छन् ।
शुक्रवार दिउँसो १ बजेबाट बेलुका ५ बजेसम्मका लागि मतदान समय तोकिएको छ । मतदाताका रूपमा सदस्यता नवीकरण गरेका १३ सय १९ पर्यटन व्यवसायी छन् ।
टान निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ९ सदस्य गरी १७ जना निर्वाचित हुनेछन् भने ६ जना सदस्य मनोनीत गरिने छन् । निवर्तमान अध्यक्ष र पोखरा टानका अध्यक्ष पनि कार्यसमितिको सदस्यको रूपमा रहने छन् । कुल कार्यसमिति २५ जनाको हुनेछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…