October 15, 2019

दसैँमा आन्तरिक पर्यटकको आकर्षणमा होमस्टेहरू

Homestays attraction
घलेगाउँ

काठमाडौँ । दसैँको बिदामा घुमघाम गर्नेहरूका लागि होमस्टेहरू छनौटमा पर्ने गरेको छ । काठमाडौँको बसाई, कामको तनावलाई हटाउन घुमघाम गर्ने परम्परा बसेको जानकारहरू बताउँछन् । साथै कामको सिलसिलामा बिदेसिएकाहरू यही बेला नेपाल आउँदा उनीहरूको मुख्य आकर्षण पनि घुमघाम हुने गरेको छ ।

बिदेसिएकाहरू स्वदेश फर्किएको, नियमित कामबाट केही दिनको लागि फुर्सदिलो भएको तथा घरपरिवार तथा साथीहरू मिलेर घुम्न निस्कने उचित समय दसैँ र त्यसपछिको बिदालाई लिने गरिन्छ ।

त्यस्तै दसैँको बिदामा विशेष गरेर आन्तरिक पर्यटक सामुदायिक होमस्टेहरूमा पुगेका छन् । सार्क राष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानी, राइनासकोटलगायतका होमस्टेहरूमा पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

दसैँको टिकाको दिनपछि चार दिनसम्म घलेगाउँमा दैनिक ३ सय पर्यटकहरू आएको पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

पर्यटक व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार हाल दैनिक ५० जना भन्दा बढी पर्यटकहरू आएका छन् । दसैँ अगाडी दैनिक ३० जना हुने घलेगाउँमा दसैँको चार दिन तीन सय भन्दा बढी पर्यटक आएका थिए ।

घलेगाउँ घुम्न आएका पाहुनालाई होमस्टे, सामुदायिक भवन र होमस्टे सञ्चालन नभएका घरहरूमा समेत व्यवस्थापन गरिएको घलेले जानकारी दिए । उनका अनुसार घलेगाउँमा जम्मा ३७ घरमा होमस्टे सञ्चालन गरिएको छ । सबै घरमा गरी जम्मा १ सय ९२ बेड छन् । गाउँमा सञ्चालित एउटा होटेलमा ३० बेड छन् ।

त्यस्तै राइनास कोट होमस्टेमा दसैँको चार दिनमा पाँच सय भन्दा बढी पर्यटक आएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खर्गबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार दसैँ अगाडी राइनासमा दैनिक २० जना पर्यटकहरू आउने गरेका थिए ।

भूकम्पले क्षतिग्रस्त बनाएको लमजुङको राइनासकोटका घरहरू पुनर्निर्माण गरेर होमस्टे सञ्चालन गरिएको हो । वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको राइनास कोटमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै होमस्टे सुरु गरिएको हो । नातासाको २ करोड ७५ लाख, स्थानीयवासीको ७५ लाख गरी कूल ३ करोड ५० लाखको लागतमा १ सामुदायिक भवन, एक संग्राहालय र १४ घर निर्माण गरिएको छ ।

सुरुवाती चरणमा १४ घरमा होम्स्टे सञ्चालन गरिएको थियो । हाल १५ घरमा होमस्टे सञ्चालन गरिएको छ भने थप दुई घरमा तिहार लगतै सञ्चालनको तयारी गरिएको गुरुङ बताउँछन् ।

घलेगाउँ, राईनास होमस्टे सँगै लमजुङकै काउलेपानी, बेसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको सङ्ख्या दसैँमा बढेको बताइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…