October 17, 2019

डेढ महिनामा २५ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगे

Poon Hill Trek in five daysपुनहील ।

काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्लो डेढ महिनामा करिब २५ हजार पर्यटक पुगेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गत सेप्टेम्बर र अक्टोबर १५ तारिखसम्म २४ हजार ६ सय ६५ पर्यटकले अनुमति लिएका छन् ।

करिब डेढ महिनाको अवधिमा सार्क र अन्य देशका पर्यटकले अनुमति लिएको नेपाल पर्यटन बोर्डमा रहेको एक्यापको प्रवेश शुल्क काउन्टरका इन्चार्ज राजेन्द्र जोशीले जानकारी दिए । उनका अनुसार अनुमति लिनेमा सबैभन्दा धेरै अन्नपूर्ण सर्किट ट्रेकमा जाने पर्यटक छन् । उक्त ट्रेकमा डेढ महिनामा ८ हजार ९९ जनाले अनुमति लिएका छन् ।

त्यस्तै अन्नपूर्ण सेन्चुरी ट्रेकमा ४ हजार ५ सय ६२, घोरेपानी–पुन हिल ट्रेकमा २ हजार ८७२, मुक्तिनाथ ट्रेकमा १ हजार ९४७, घोरेपानी घान्द्रुक ट्रेकमा १ हजार ६६६ जना, उपल्लो मुस्ताङ ट्रेकका लागि १ हजार ६६ र अन्यमा १ हजार १८२ जनाले अनुमति लिएका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने अन्नपूर्ण सर्किटमा जाने पदयात्रीले एक्यापको प्रवेश कार्ड र नेपाल पर्यटन बोर्डबाट पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड अनिवार्य लिनुपर्छ ।

Hotels in Everest Base camp going to reopenअन्नपूर्ण बेसक्याम्प । 

एक्यापले सार्क देशका प्रति पर्यटक एक हजार र अन्य विदेशीबाट तीन हजार र नेपालीबाट एक सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । उक्त शुल्क भ्याटसहित हो ।

त्यस्तै नेपाल पर्यटन बोर्डले टिम्स कार्डबापत प्रति पदयात्री दुई हजार रुपैयाँ लिने गरेको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले समूहगत रूपमा प्रति पदयात्री एक हजार रुपैयाँ लिने गरेको छ ।

टिम्स कार्डको बिक्रीबाट संकलित रकम बोर्ड र टानले समझदारीमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

संकलित रकम मध्ये ३० प्रतिशत बोर्डको र ३० प्रतिशत टानको भागमा पर्छ भने बाँकी ४० प्रतिशतमा ३० प्रतिशत यी दुवै संस्थाले संयुक्त रूपमा पर्यटकीय विकासमा र १० प्रतिशत मजदुर कल्याणकारी कोषमा खर्च गर्नुपर्ने प्रावधान छ ।

काठमाडौँ बाहेक एक्यापले पोखरा र लमजुङको बेसीसहरमा रहेको काउन्टरबाट पनि अनुमति पत्र जारी गर्दै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने पर्यटकले तोकिएको प्रवेश शुल्क काउन्टरबाट प्रवेश अनुमति पत्र नलिई संरक्षित क्षेत्रमा प्रवेश गरेमा दोब्बर शुल्क बुझाउनुपर्छ ।
पर्यटकले संरक्षित क्षेत्रमा एक पटक प्रवेश गरेपछि अन्य क्षेत्रमा जाँदा पुनः अर्को अनुमति लिनु पर्छ ।

mountaineering training
मनाङमा पर्यटक ।

अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दी गरी ५ जिल्ला रहेका छन् ।

अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौँको काउन्टर बाहेर बेसीसहर, धम्पुस, बिरेठाँटी र तातोपानीमा समेत टिम्स काउन्टर रहेका छन् ।

लमजुङको बेशीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्गको बाटो हुँदै पर्यटक लमजुङको उत्तरी क्षेत्र, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत भएर पोखरासम्म पुग्न सक्छन् । चक्रीय पदमार्गमा संसारकै अग्लो पदमार्ग भञ्ज्याङ थोराङला (५,४१६ मि. उचाइ) र तिलिचो (४९१९ मि.) प्रमुख गन्तव्य हुन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…