October 17, 2019

लाप्राक नमुना बस्तीमा चाबी बुझाइयो, थप निर्माणको लागि त्रिपक्षीय सहमति

लाप्राक एकीकृत बस्तीको घरका चाबी हस्तान्तरण गर्दै एनआरएनएका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ ।

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले निर्माण गरेको लाप्राक नमुना बस्तीको केही घरको चाबी घरधनीलाई हस्तान्तरण गरिएको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्टले मङ्गलवार लाप्राक पुगेर नयाँ घरको चाबी हस्तान्तरण गरेका हुन् ।

बि.स‌ं. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रमा परेको लाप्राक गाउँमा क्षती भएपछि नजिकैको गुप्सीपाखामा एनआरएनएले नमुना बस्ती निर्माण गरेको हो ।

कुल ५ सय ७३ वटा घर निर्माण गरिएकोमा अझै केही घरहरूको निर्माण सम्पन्न हुन बाँकी छ भने पूर्वाधारहरुको काम पनि जारी छ ।

चाबी हस्तान्तरण कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले आफूहरू लाप्राकबाट बाहिर जाने भन्दा पनि थप काम गर्न लागेको बताए । ्

‘सुरु नगरेसम्म त्यसको परिणाम नदेखिने हुनले बस्न मिल्ने घरहरूमा बस्ने अवस्था बनाउने सहजीकरणको लागि आएका छौँ’ उनले भने, ‘संरक्षक परिषद् बनाउने र त्यसको अध्यक्ष म नै बस्ने कुरा भएको छ । यहाँबाट भाग्ने होइन, अरू पनि विभिन्न किसिमका सम्भावनाहरू खोजेर अगाडि बढाउनका लागि कटिबद्ध छु ।’

Laprak Model settlement
लाप्राक एकीकृत नमुना बस्ती ।

त्यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र धार्चे गाउँपालिकाबीच लाप्राक एकीकृत नमुना बस्तीको थप कामहरू अघि बढाउन सहमति भएको छ ।

सहमति अनुसार ४५ दिनभित्र घरधनीलाई लालपुर्जा हस्तान्तरण गर्ने, बाँकी रहेको निर्माण कार्यका लागि एनआरएनएले धार्चे गाउँपालिकाको खातामा जम्मा गरी काम अघि बढाउने, पूर्वाधार विकासमा भएको प्रगतिको समीक्षा गर्ने र थप कामका लागि पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा कार्यदल गठन गरेर काम गर्ने उल्लेख छ ।

त्यसैगरी लाप्राक एकीकृत नमुना बस्तीको दीर्घकालीन विकास तथा लाभग्राहीको जीविकोपार्जनका लागि गाउँपालिकासँगको समन्वयमा कार्यक्रम गर्ने र नेपाली सेनालाई बस्ती विकास सम्पन्न नभएसम्मका लागि निरन्तरताका लागि रक्षा मन्त्रालयमार्फत जङ्गी अड्डालाई अनुरोध गर्ने पनि सहमति भएको छ ।

Laprak Model settlement agreement
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, एनआरएनए र धार्चे गाउँपालिकाबीच भएको सहमति ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…