ढोरपाटनमा सिकार खुला, सिकारी र राजस्व दुवै घटे
काठमाडौँ । मुलुकको एक मात्र ढोरपाटन सिकार आरक्षमा सिकारका लागि आउने पेशेवर सिकारी घटेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा खुला गरिएको कोटा अनुसार पनि अनुमति माग भएको छैन ।
यस यामका लागि दश नाउर र छ झारलको कोटा रहे पनि सिकारको माग जम्मा सात नाउर र पाँच झारलको मात्र आएको छ । विभागले अघिल्लो महिना सिकारका लागि सिकारी अनुज्ञा पत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो ।
कम मात्र अनुमति माग हुँदा राजस्वसमेत घटेको छ । विभागको राजस्व व्यवस्थापन शाखाका सहायक व्यवस्थापक अधिकृत सन्तोष भगत उदृत गर्दै राससले उल्लेख गरे अनुसार एउटा नाउरको सिकारका लागि रु. एक लाख ९० मात्र राजस्व उठेको बताए ।
अघिल्लो सिकार याम (फागुन–वैशाख) मा एउटा नाउर सिकारको राजश्व नै रु. तेह्र लाख ५१ हजार र झारल सिकारको रु तेह्र लाख ५० हजार राजश्व उठेको बताइएको छ । सिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व घट्ने हुन्छ । हरेक सिकार याममा राजश्वको दर घटबढ हुने गरेको विभागले जनाएको छ । गत वर्षको यही सिकार याम (असोज–मङ्सिर) मा पनि नाउर सिकारको राजश्व रु. बाह्र लाख पाँच हजार र झारलको रु नौ लाख २० हजार थियो ।
आरक्ष कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले दुई सातापछि पहिलो सिकारी टोली ढोरपाटन पुग्ने बताए । ‘मङ्सिरको अन्तिमसम्ममै सिकार खुला रहन्छ’, उनले भनिन् ।
ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड लाइफ सफारिज, नेपाल वाइल्ड लाइफ एडभन्चर, हिमालयन अउटफिटर, हिमालयन सफारिजल र ग्लोबल सफारिजले ढोरपाटनमा सिकार खेलाउँदै आएका छन् ।
व्यवस्थित सिकारका लागि आरक्षभित्र छ ‘ब्लग’ तोकिएको छ । यहाँ फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लग छ । शिकारीले रोजेको ठाउँमा कम्पनीले सिकार गराउने गर्छन् । सिकारका लागि रुस, अमेरिका, क्यानडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी आउने गरेका छन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै शिकारीले रु. ३० लाखदेखि रु. ३५ लाखसम्म खर्चने गरेको बताइन्छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् ।
सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । ढोरपाटनमा वर्षेनी असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला गर्ने गरिएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवको लागि ढोरपाटन विदेशी नागरिकको रोजाइमा पर्छ । विसं २०३९ मा स्थापना भएको सिकार आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार ३२५ वर्ग किमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको पहाडी र हिमाली भू–भागमा अवस्थित छ । विभागले वर्षमा २० नाउर र ११ झारलको सिकार कोटा छुट्टयाउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…