October 22, 2019

पर्वतारोही अमको फाउन्डेसनको दश वर्ष, १५ स्कुलको भवन निर्माण

um hong gil human foundation
पर्वतारोही अम होङ गिल ।

चर्चित पर्वतारोही अम होंङ गिलले स्थापना गरेको अम होंङ गिल ह्युमन फाउन्डेसनले दश वर्ष पुरा गरेको छ । फाउन्डेसनले गुणस्तरीय शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको छ ।

दक्षिण कोरियाका नागरिक अम आठ हजार मिटरभन्दा माथिका सबै १६ वटा हिमालको आरोहण गर्ने पहिलो व्यक्ति हुन् । फाउन्डेसनका अनुसार नेपालका आठ वटा आठ हजार माथिका हिमाल चढ्ने क्रममा धेरै नेपालीले उनलाई सहयोग गरेका थिए । कतिले ज्यान नै गुमाए ।

‘तिनै सहयोगीको गुण तिर्न क्याप्टेन अमले सन २००८ मा अम होंङ गिल ह्युमन फाउन्डेसनको स्थापना गर्नुभएको हो’ फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१० मा सोलुखुम्बुको पाङबोचे आधारभूत विद्यालय निर्माण सुरु गरेको फाउन्डेसनले हालसम्म १२ जिल्लामा १५ बालमैत्री भूकम्प प्रतिरोधी सुविधा सम्पन्न आधुनिक पक्की विद्यालय भवनहरू निर्माण गरेर हस्तान्तरण गरेको छ । साथै ती विद्यायलहरुमा ६ हजार ९ सय विद्यार्थी अध्ययनरत रहेको फाण्डेशनले जनाएको छ ।

फाउन्डेसनले संखुवासभा तथा सोलुखुम्बुका दुई विद्यालयमा आधुनिक सुविधासहितको छात्रावास बनाएको, कास्कीस्थित बिरेथान्ति मा.बि.मा स्मार्ट कक्षाबाट शिक्षण सुरु गरेको, म्याग्दीस्थित सर्वोदय मा.बि.मा अन्तर्राष्ट्रिय टेली टिचिङ प्रविधिबाट शिक्षण सुरु गरेको र आफूले निर्माण गरेको ११ विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरेको तथा ५ विद्यालयमा १३ जना शिक्षकको व्यवस्था गरेको पनि फाउन्डेसनले जनाएको छ ।

um hong gil human foundation
अम होङ गिलले चढेका आठ हजार मिटर माथिका हिमालहरु ।

फाउन्डेसनले आगामी १० वर्षमा भौतिक पूर्वाधारको विकाससँगै गुणस्तरीय शिक्षाका लागि समय सापेक्ष तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको बताइएको छ ।

फाउन्डेसनले मनाङका पर्वतारोहण स्कुल, अन्नपूर्ण आधार शिविरमा रेस्क्यू सेन्टर र तेह्रथुममा स्कुल बनाउनको लागि पनि काम गरिरहेको जनाएको छ ।

यिनै योगदानका कारण सन् २०१९ सेप्टेम्बर १७ मा सामाजिक सेवा सम्मान, कुमार खड्का विक्रम साहसिक सम्मान २०१८, सगरमाथा राष्ट्रिय सम्मान २०१९ र प्रकाश दाहाल साहसिक सम्मान २०१९ बाट प्राप्त गरेको पनि फाउन्डेसनले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…