पोकली झरना महोत्सव तयारी
नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढु्ङ्गाको पर्यटकीय क्षेत्र पोकली झरना परिसरमा ‘पोकली झरना महोत्सव’ हुने भएको छ । पोकली झरनाको प्रवर्द्धन गरी आन्तरिक तथा विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसाथ पोखली झरनासेवा समाजले यही कात्तिक १६ र १७ गते महोत्सव आयोजना गर्न लागेको हो ।
झरनाको सौन्दर्य र महत्वलाई विश्वस्तरमा चिनाउन तथा पर्यटन वर्षलाई केन्द्रित गरी प्रभावकारी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यसाथ महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइयो । भ्रमण वर्षका दौरानमा सो झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसाथ महोत्सव गर्न लागिएको समाजका अध्यक्ष मिलन विष्टले बताए ।
सरकारले पोकली झरनालाई एक सय गन्तव्यको सूचीमा राखेर प्रवर्द्धन गरिरहेको छ । सङ्घीय सरकारले रु २५ लाख, प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका सांसद यज्ञराज सुनुवारले पनि आफ्नो सांसद विकास कोषमार्फत रु ५० लाख विनियोजन गरेका छन् ।
उल्लेखित बजेट पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गर्नेगरी पोकलीको विस्तुत गुरुयोजना तयार हुदैँ गरेको जनाइएको छ । वृत्तचित्र निर्माण, ‘फन पार्क’, झरना आसपासमा सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ वटा घरबास कार्यक्रम ‘होमस्टे’ बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन भइरहेको समाजका महासचिव शम्भु बरालले जानकारी दिए ।
रानीवनको काखमा रहेको पोकली झरनाको संरक्षणका लागि झरनाको शिर माथितिर सिरानमा एक हजार करोड लिटर क्षमताको ‘ड्याम’ निर्माण गर्ने योजना रहेको समाजले जनाएको छ । बर्खामा प्रशस्त पानी भए पनि हिउँदको समयमा पोकली झरनाको पानी कम हुदाँ सौन्दर्य घट्न नदिनका लागि पानी सञ्चित गर्न लागिएको हो ।
समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइको सो झरना १३० मिटर उचाइको छ । कर्णाली प्रदेशको कालिकोटस्थित १४८ मिटर उचाइको पचल झरना नेपालको पहिलो उचाइको र पोकली दोस्रो झरना मानिन्छ ।
राजधानी काठमाडौँबाट १८३ किलोमिटर दुरीमा रहेको पोकली झरनासम्म यातायातको पहुँच छ । काठमाडाँैबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुदैँ झरनास्थल पुग्न सकिन्छ । त्यहाँ बसोवासका लागि होमस्टेको पनि व्यवस्था रहेको बताइन्छ ।
पोकली झरना र आसपास क्षेत्रमा रहेको ओखलढु्ङ्गाका सम्भावित पर्यटकीयस्थलको प्रवर्द्धनार्थ कार्यक्रम गरिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिए । समाजका सल्लाहकार बालकृष्ण ढुङ्गेलले पर्यटकीय क्षेत्र पोकली झरनालाई सगरमाथाको दृश्यावलोकन गर्न पाइने प्रसिद्ध पिके लेकसम्मका पदयात्रालाई समेत प्रवद्र्धन गर्न महोत्सव उपयोगी हुने बताए ।
धान झुलेको र गुराँस फूलेको बेला पर्यटकीय आकर्षण थप्ने पोकली झरना हिँउदको समयमा पनि क्यानोनिङलगायत खेलका लागि आकर्षक मानिन्छ । यो क्षेत्रमा बाह्रमहिनै पर्यटकीय गतिविधि बढाउन पनि महोत्सवले टेवा पुग्ने आयोजकको बुझाई छ ।
महोत्सवका अवसरमा राष्ट्रियदेखि स्थानीय कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । शेर्पा, तामाङ, गुरुङ, सुनुवार, मगरलगायत समुदायको स्थानीय झाँकी प्रदर्शन गरिनेछ । काठमाडौँको इन्द्रेणी कला समाजको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । विसं २०३६ मा स्थापना भएको संस्थाले पोकली क्षेत्रको पर्यटन प्रवर्द्धनार्थ विभिन्न महोत्सव गर्दै आएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…