November 2, 2019

तराई-मधेस र काठमाडौंमा छठ मनाइयो, राष्ट्रपतिद्वारा गुह्येश्वरीमा पूजा

Chath Festival in Nepal
काठमाडौँ ।  शनिबार साँझ तराई-मधेस र राजधानी काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजाआज गरी अर्घ्य दिएर छठी मनाएका छन् । तराई-मधेसमा विभिन्न नदी तथा तालको छेउमा पूजास्थल बनाइएको थियो भने काठमाडौंमा बिभिन्न चार स्थानमा पूजास्थल बनाइएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरी गई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरेकी छन् । राससका अनुसार छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन् ।

उक्त स्थानमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ । नदीका दुवै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ ।

Chath Festival in Nepalकात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो । ‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुया छठ व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ । छठपर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठी मातालाई झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रशन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यताअनुरुप भक्तजनले सिङ्गो केराको घरी, भोगटे, बिमिरो, उखु, नरिवलजस्ता माटो माथि र माटोमुनि फल्ने मौसमअनुसारको फलफूल चढाउने गर्दछन् ।

Chath Festival in Nepalतराई–मधेशमा स्थायी घर भई काठमाडौँ उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न व्रतालु छठपर्व मनाउन र छठी माताको दर्शनका लागि ठूलो सङ्ख्यामा गुह्येश्वरी क्षेत्रमा पुगेका छन् । कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अघ्र्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठपर्व समापन हुन्छ । राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, बल्खु, नख्खु, विष्णुमतीलगायत नदी किनारमा पनि भव्यरूपमा छठपर्व मनाइँदै छ ।

Chath Festival in Nepal

Chath Festival in Nepal

Chath Festival in Nepal

तस्बिर सबै : रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…