November 19, 2019

बजेट अभावले बाँकेमा भ्रमण वर्षको तयारी शून्य

बाँके– भ्रमण वर्ष सन् २०२० सुरु हुन करिब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवर्द्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म छलफल हुन सकेको छैन ।

जिल्लामा भ्रमण वर्ष लक्षित गतिविधि अझै पनि सुरु हुन सकेका छैनन् । स्थानीय तहले औपचारिक कार्यक्रम र चिठ्ठीपत्रमा भ्रमण वर्ष सन् २०२० को लोगो राख्नेबाहेक कुनै काम गरेका छैनन् ।

स्थानीय तहले पर्यटक आकर्षण गर्न र पर्यटकीयस्थलको प्रचारप्रसारमा ध्यान पुर्‌याउन सकेका छैनन् । भ्रमण वर्षलाई सार्थक बनाउन वृहत् योजना आवश्यक भए पनि जिल्लामा अहिलेसम्म कुनै तयारी नभएको भ्रमण वर्ष २०२० का प्रदेश समिति सदस्य भाष्कर काफ्ले स्वयं बताउँछन् ।

उनले भ्रमण वर्षको तयारी नारामै सीमित भएकोजस्तो देखिएको बताए । सरकारले यहाँका चार पर्यटकीयस्थललाई पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवर्द्धनका लागि बजेट नहुँदा प्रचारप्रसारलगायका काममा समस्या भएको काफ्लेको भनाइ छ । सरकारले १०० गन्तव्यमा सूचीकृत गर्दा बाँकेका चार समेटिएका थिए । ती गन्तव्यको प्रवर्द्धनका लागि बजेट भने उपलब्ध गराएको छैन ।

नेपालगञ्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, बैजनाथ गाउँपालिका–१ मा रहेको गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह मजारलाई सूचीकृत गरेको छ ।

गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले सरकारले १०० गन्तव्यको सूचीमा राखे पनि प्रवर्द्धनका लागि बजेट नछुट्याएको बताए । ‘पचास गन्तव्यका लागि बजेट छुट्याएको थाहा छ,’ उनले भने, ‘त्यसमा बाँकेका कुनै पनि गन्तव्य पर्न सकेनन्, नीजि क्षेत्रको पनि यसमा चासो देखिएन ।’

आन्तरिक र बाह्य पर्यटकको केन्द्रका रुपमा रहेका पर्यटकीयस्थल सरकारको गन्तव्यमा सूचीकृत हुनु राम्रो भए पनि प्रवर्द्धन र विकासका लागि बजेट नछुट्याइनु निराशाजनक रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष चौधरीले बताए ।

पर्यटकीयस्थलको प्रवर्द्धन र पूर्वाधारबिना पर्यटक भित्र्याउन सम्भव नहुने बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीको भनाइ छ । बागेश्वरी मन्दिरको प्रवर्द्धन गर्न सके मात्रै ठूलो सङ्ख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने उनले बताए । बजेट अभावकै कारण तयारी नहुँदा जिल्लामा पर्यटनको रौनक बढ्न नसकेको उनको भनाइ छ ।

‘सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने हो भने उनीहरूलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवर्द्धन हुनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलगायत पर्यटकलाई आकर्षण गर्ने स्थलसमेत भएकाले प्रवर्दधन जरुरी छ।’

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा भ्रमण वर्षका लागि कार्ययोजना बनाउन गठन गरिएको २१ सदस्यीय जिल्ला समितिको बैठकसमेत हालसम्म बसेको छैन । सरकारको तयारी कम भएकाले लक्ष्य हासिल गर्नेमा शङ्का देखिएको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष चौधरीले बताए ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पनि कम्मर शाह मजारका लागि सरकारबाट कुनै पनि बजेट उपलब्ध नभएको बताए । ‘अहिलेसम्म मजारका लागि बजेट कतैबाट पाएका छैनौं,’ अध्यक्ष चौधरीले भने। होटल व्यवसायी संघका जिल्ला अध्यक्ष भीम कँडेलले काम गर्न खोज्दा पनि सम्बन्धित निकायको सहयोग नपाएको बताए ।

– काशीराम शर्मा (रासस)

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…