यस कारण आफ्ना विद्यार्थी नेपाल ल्याउँछन् प्रा. लोयड
नेपालको राष्ट्रिय फुल लालीगुराँस, वासिङ्टन 'स्टेटको स्टेट फ्लावर'
- हाइलाइटस् टुरिजम
काठमाडौं । टी. अबे लोयड, अमेरिकाको वासिगटन स्टेटको वेष्टर्न वासिङ्टन युनिभर्सिटीमा बोटनी र इकोलोजी पढाउँछन् । उनी अमेरिकी नागरिक हुन् तर नेपालप्रतिको उनको लगाव लोभलाग्दो छ । त्यसैले त उनको त्यहाँ पढाउनुको एउटा उदेश्य विद्यार्थीहरूलाई नेपाल ल्याउनु पनि हो ।
उनी नेपालमा विद्यार्थी ल्याउने चाँजो मिलाउनकै लागि ‘स्टडी अब्रोड प्रोग्राम’ सहभागी भए । उनी भन्छन्, ‘मेरो मूल चाहना नेपालमा विद्यार्थीहरू ल्याएर पढाउने हो, उनीहरूले यहाँबाट सिकुन् भन्ने हो ।’
नेपाल कनेक्सन
लोयड पहिलो पटक सन् २००३ मा पिसकोर स्वयंसेवीको रूपमा नेपाल आएका थिए । अमेरिकी सरकारले पठाउने पिसकोरहरुलाई कुन देश जाने भनेर छान्ने अधिकार हुँदैन । त्यो अधिकार दिएको भए अर्कै छान्थे की? किनभने त्यस बेला नेपालको राजनीतिक अवस्था ठिक थिएन । माओवादीहरुले सशस्त्र युद्ध मच्चाएका थिए । तर उनी नेपालमा परे । अहिले भन्छन्, ‘म आफूलाई भाग्यमानी सम्झन्छु नेपालमा परेँ ।’
बुटवलमा पाँच साताको नेपाली भाषा र नेपाली संस्कृतिको प्रशिक्षण पछि उनलाई लाङटाङ नेशनल पार्कमा पठाइयो । उनी त्यतैको गाउँमा बस्न गए, नेपाली परिवारसँग । बोटनी पढेका उनलाई बनस्पति र जीवजन्तुप्रति लगाव थियो । उनले निकुञ्ज र वरिपरिका समुदायबाट धेरै कुरा सिके । जीवन र जगत् सिके ।
उनी भन्छन्, ‘मैले नेपालमा परिवार पाएँ । उहाँहरूसँग धेरै कुरा सिकेँ ।’
दुई वर्षका लागि नेपाल आएका लोयड एक वर्षमै फर्कनु पर्ने भयो । सशस्त्र द्वन्द्वमा माओवादीले अमेरिकीहरू नसहेपछि अमेरिकी सरकारले आफ्ना सबै नागरिकहरूलाई नेपाल छाड्न भनेको थियो, त्यसैले उनको बसाई पनि छोट्टियो ।
नेपालबाट गए पनि उनको होस्ट परिवारसँग सम्बन्ध कायमै थियो । फर्केपछि उनी पढ्नतिर लागे । सन् २००९ मा जलवायु परिवर्तनले बोटबिरुवा र हिमाली क्षेत्रमा पारेको प्रभावका बारेमा अनुसन्धान गर्दै थिए । उनलाई लाग्यो नेपाल किन नछान्ने ? पुराना मित्रहरुसँग पनि भेट हुन्छ ।
दोस्रो पटक उनी लाङटाङ क्षेत्र आए । त्यहाँ उनले तीन साता बसेर अनुसन्धान गरे । फर्केर आउँदा माया झनै बढ्दो रहेछ । उनी फर्के आफ्नो काममा लागि रहे । तर नेपालको सम्झना आइरहन्थ्यो । आउन पाइरहेका थिएनन् ।
सन् २०१५ मा नेपाल ठुलो भूकम्प गएको खवर सुने । उनले सन् २००३ का आफ्ना होस्टे परिवारलाई सम्झे । तर सम्पर्क हुन सकेन । उनको मनमा बेचैनी भयो । तर सम्पर्क गर्न सकेनन् ।
त्यसपछि भने उनी त्यस्तो कामको खोजीमा लागे जुन कामले नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउन सकोस् । उनले ‘विदेशमा पढाउने कार्यक्रम’ मा सहभागी हुने इच्छा बनाए । खासमा उनको उद्देश्य विद्यार्थीहरूलाई नेपाल ल्याउने यहाँका बनस्पति, जीवजन्तु र समाजसँग घुलमिल गराउने थियो ।
उनले वेष्टर्न वासिङ्टन युनिभर्सिटीमा बोटनी र इकोलोजी (वनस्पति विज्ञान र पारिस्थितिक प्रणालीका) पढाउने अवसर पाए । उनले खोज्दै गरेको काम त्यही थियो । अहिले उनी आफूले त्यहाँ पढाउने विद्यार्थीहरूलाई लिएर नेपाल आइरहन्छ । पछिल्लो तीन वर्ष लगातार उनी नेपाल आइरहेका छन्, विद्यार्थीहरूलाई लिएर । सात हप्ताको उनको कार्यक्रममा विद्यार्थीहरूलाई लाङटाङ नेशनल पार्क र वरिपरिको स्थानीय समुदायमा लगिन्छ । वनस्पति र जीवजन्तुका बारेमा पढाउने त भए नै स्थानीय समुदायबाट पनि धेरै सिक्छन् ।
यो कार्यक्रमको संयोजक अन्तर्रनष्ट्रिय रुपमा ‘इन्टिच्यूट फर भिलेज स्टाडिज्’ ले गर्छ भने स्थानीय रुपमा ‘रुरल टुरिजम एण्ड इन्भारोन्मेन्ट इजुकेशन सोसाइटी’को तर्फबाट बीपीन लामाले ब्यवस्थापनको काम गर्दछन् । पहिलो पटक उनले सन् १७ मा विद्यार्थी लिएर नेपाल आएका थिए । त्यस पछि लगातार आइरहेका छन् । यस पटक विद्यार्थी लिएर आएको तेस्रो पटक हो ।
विद्यार्थी पनि खुसी
एक जना शिक्षकको रूपमा उनको लागि उनको विद्यार्थीहरूले ज्ञान आर्जन गर्नु र खुसी हुनु महत्त्वपूर्ण हुन्छ । दुई समूह आएर फर्किसके, अहिलेको समूहको पनि डिपार्चरको बेला भएको छ । तर, अहिलेसम्म कसैको गुनासो छैन । सबैले राम्रो भनेका छन्, त्यसैले उनी उत्साहित छन् ।
उनको अनुभवमा अमेरिकी बालबालिकाले नेपालमा सिक्ने धेरै कुरा छन् । ‘खासमा नेपाली बालबालिकाहरू छिटो हुर्कन्छन्, परिवारका सदस्यहरूलाई विभिन्न काममा सघाउँदै हुर्कने उनीहरूले जीवन र जगतलाई छिट्टै बुझ्छन्’ उनी भन्छन्, ‘हाम्रोमा त्यस्तो हुँदैन बालबालिकाहरूलाई पढाइमा मात्र केन्द्रित गरिन्छ, त्यसैले उनीहरूले यहाँ आएर सिक्छन् ।’
यहाँ उनका विद्यार्थीहरूलाई सजिलो हुने अर्को पाटो पनि छ । अमेरिकाको वासिङ्टन स्टेटमा पाइने बोटबिरुवा र नेपालको लाङटाङ क्षेत्रमा पाइने धेरै बोटबिरुवा उही प्रजातिका छन् । ‘धेरै वनस्पतिको प्रजाति उही छन्, उनीहरूको जात मात्र फरक छ’ लोयड भन्छन्, ‘त्यसैले विद्यार्थीहरूलाई बुझाउन र बुझ्न सजिलो हुन्छ ।’
अव गुराँसकै कुरा गरौँ । लालीगुराँस नेपालको राष्ट्रिय फुल हो । यही फुल वासिङ्टन स्टेटको पनि ‘स्टेट फ्लावर’ हो । ‘यहाँको भन्दा हाम्रोमा रुख अलि होचो हुन्छ’ उनी मुस्कुराउँदै भन्छन् । त्यहाँ पनि रातो र सेतो दुवै थरी गुराँस फुल्दा रहेछन् ।
अर्को कुरा अमेरिकी विद्यार्थीले नेपाल आएर यहाँको जस्तो परिस्थितिमा पनि कसरी खुसी हुने भन्ने सिक्छन् । अमेरिकी बालबालिकाले असन्तुष्टि सिक्छन् । तर, यहाँ कति थोरै स्रोतमा पनि खुसी रहन्छन् भन्ने उदाहरण पाइन्छ ।
नेपालमा देखिएका परिवर्तनहरू
उनको नेपाल कनेक्सनको झन्डै १६ वर्षमा नेपालमा धेरै परिवर्तनहरू देखेका छन् । हुन नसकेका कुराहरूको पनि अनुभूति छ उनलाई । उनी लुकाउँदैनन् । ‘मैले किन पो लुकाउनु मलाई लागेको अनुभूति बाँड्ने न हो’ उनी भन्छन् ।
उनले देखेको सुधार, नेपाली घरहरूमा आउने पानीमा देखेका छन् । ‘काठमाडौँमा होइन है, लाङटाङ क्षेत्रमा हो सुधार देखिएको । २००३ मा म त्यहाँ बस्दा हरेक महिना जसो बिरामी पर्थेँ, त्यो खाना र पानीकै कारण हुन्थ्यो, तर यसपालि मेरा एक जना पनि विद्यार्थी बिरामी भएनन्’ उनी खुसी छन् ।
उनको बुझाइमा गाउँमा सफाइ बढेको छ, भान्छा सुधारिएको छ, खाना र पानीमा सुधार आएको छ । घर आगन पनि सफा देखिन्छन् । यो भन्दा राम्रो चाही नेपालीको मन बिग्रिएको छैन । नेपालीहरू उस्तै मायालु र दयालु छन् । भन्छन्, ‘त्यसैले नेपालमा मेरो परिवार छ ।’
उनीसँग नेपालका बारेमा राम्रा अनुभूति मात्र छैनन्, केही दिक्क लाग्दा कुराहरू पनि छन् । काठमाडौँको फोहोर, प्रदूषण र अव्यवस्थित सवारी साधन उनका लागि साह्रै दिक्क लाग्ने कुरा हुन् । यद्यपि सुरक्षामा भने उनको गुनासो छैन । पर्यटकका लागि उनी नेपाललाई सुरक्षित देख्छन् । भन्छन्, ‘पाँच चोटि आइसकेँ मेरो केही पनि चोरी भएको छैन, कुनै समस्या परेको पनि छैन । आशा गरौँ यस्तै अवस्था सधैँ रहोस् ।’
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…