November 22, 2019

मुस्ताङको चराङमा अनौठो गुफा

mysterious Cave in Nepal
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङस्थित सात तला र एक सय ५० कोठा भएको गुफा । तस्बिरः निरज थकाली/रासस

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा अनौठो गुफा रहेको छ । पर्यटकलाई आकर्षण गर्न सकिने संभावना रहेपनि चराङमा गुफाहरु अझै ओझेलमा छन् ।

हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ । सात वटा तला र करीब १५० वटा कोठा रहेको गुफा पहाड खोपेर बनाएको हो । उपल्लो मुस्ताङको मानव सभ्यतासँग जोडिएको यि गुफाभित्र कुनै समय पूरै गाउँ भएको जस्तो देखिन्छ ।

पहाडभित्र तला तला र कोठा–कोठा छन् । छिर्ने र निस्कने एउटै प्रवेशद्वार भए पनि भित्र फरक–फरक कोठा छन् । ती कोठामा सुत्ने, ध्यान बस्ने, गुम्बा, शौचालय, बैठक, घाम ताप्ने ठाउँ छन् । अन्न भण्डारण गरेर राख्ने ठाउँ पनि छ ।

स्थानीयवासीका अनुसार परापूर्वकालमा तिब्बतीयन समूहको आक्रमणबाट बच्न स्थानीयवासी गुफामा लुकेर बसेका थिए । गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा स–साना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेको र त्यसको अवशेष अहिलेसम्म पनि रहेको बताइन्छ ।

गुफाभित्र पुग्दा अर्कै संसारको अनुभूति हुन्छ । तिब्बतसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको छोसेरमा पनि यस्तै प्रकृतिको झोङ गुफा छ । लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा खालका कलाकृति र सामग्रीहरु पनि छन् ।

झट्ट हेर्दा प्राचीनकालको तारे होटलजस्तो देखिने गुफाको ऐतिहासिक महत्व र सम्भावना रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए । चराङ गुफा, दरबार र गुम्बालाई संरक्षण र प्रचारप्रसार गरी पर्यटकीयस्थलको रुपमा विकास गराउन पहल थालिएको उनले बताए ।

सोही गाउँपालिकाको मराङमा रहेको गुम्बा नेपालकै पुरानो मानिन्छ । चराङ गुफामा पर्यटक भित्र्याउन स्थानीयवासी र गाउँपालिकाले पूर्वाधार र प्रचारप्रसारमा जोड दिएका छन् । गत वर्ष गाउँ संरक्षण व्यवस्थापन समितिले चराङ गाउँदेखि गुफातर्फ जाने एक सय मिटर भन्दा लामो पदमार्ग बनाएको छ ।

यसवर्ष पनि गुफाको पर्यटन विकासका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए । बेनी–जोमसोम–कोरला सडकको चराङ खण्डदेखि बीस मिनेट पैदल हिँडेपछि चराङ गुफामा पुग्न सकिन्छ ।

जोमसोम–कोरला सडकमा दैनिक सयौं गाडीमा पर्यटक आवतजावत गरे पनि चराङ गुफा सुनसान छ । संरक्षण व्यवस्थापन समिति चराङका अध्यक्ष माया विष्टले गुफा, गुम्बा र ऐतिहासिक दरबारलाई समेटेर चराङमा पर्यटक भित्र्याउन सकिने बताए । सडक विस्तारसँगै ओझेलमा परेको चराङको पर्यटन विकासका लागि प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा जोड दिएको पनि उनले बताए । रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…