November 22, 2019

गाउँ घुम्दै, फोटो खिच्दै

  • शब्द र तस्बिर : रुमन श्रेष्ठ
Sunrise at Ghale Gaun
घलेगाउँबाट देखिएको सुर्योदय ।

म पेसाले फोटोग्राफर । फोटो खिच्न एकदमै मन पर्छ । बिस वर्षदेखि यही पेसामा छु । घुमफिर मेरो रुचिको विषय हो । प्राकृतिक दृश्य र वन्यजन्तुका तस्बिर खिच्न मलाई सधैँ मन पर्छ ।
भूगोलको विद्यार्थी भएर पनि होला नेपालका ग्रामीण क्षेत्रको भौगोलिक दृश्य, जीवनशैली हेर्न र बुझ्न, फोटो, भिडियो कैद गर्नमा औधी मन पर्छ ।

Raman Shreshtha, Photographer
रुमन श्रेष्ठ ।

नौ वर्षयता घुम्न हिँडिरहन्छु । सुरुमा गोसाईंकुण्ड गएको थिए । माओवादी द्वन्द्वको बेलामा थियो । बल्लतल्ल बाआमाले जान अनुमति दिएका थिए । मनाङ, मुस्ताङ, लाङटाङ, चितवन त धेरै पटक गएको छु । पोखरा र अन्नपूर्णतिर पनि गएकै थिएँ । २०५९ सालमै घलेगाउँतिर जाने सोच बनाएको थिएँ । विभिन्न कारणले मिलेन । अहिले आएर २०७६ असोज २५ मा घलेगाउँ क्षेत्रमा जाने साइत जुर्‍यो ।

Sunrise at Ghale Gaun
घलेगाउँको दृष्य ।

गत असोज २५ गते काठमाडौँको बसपार्कबाट बेसीसहरसम्म माइक्रोमा गएँ । त्यसपछि २ घण्टा जिपमा यात्रा गरेर घलेगाउँसम्म पुगेँ । पहिलो रात घलेगाउँकै होमस्टेमा बसेँ ।

दोस्रो दिन बिहानै ५ बजे नै उठियो र सूर्योदयको दृश्य खिचेँ । कस्तो राम्रो देखियो भने मैले साइत पारेरै आएको सम्झेँ । त्यसपछि घलेगाउँ घुमेँ फोटो खिचेँ । खाना खाएर घनपोखरातिर लागियो । डाँडै डाँडा हिँडेर गएपछि अनि अलिकति उकालो चढ्नु पर्छ घनपोखरा पुग्नका लागि । घले गाउँबाट घनपोखरासम्मको कुल बाटो एक घण्टा जतिको छ ।

View from Ghanpokhara
घनपोखराबाट देखिएको दृष्य ।

तेस्रो दिन पनि बिहानै उठेर घनपोखराबाट सूर्योदयको दृश्य खिचेर गाउँ घुम्न थालेँ । खाना खाएर भुजुङतिर लागियो । घनपोखराबाट भुजुङ जान तेस्रो ओरालो मोटर बाटो छ । जिप चल्ने बाटो भए पनि म हिँडेरै भुजुङ पुगेँ । साँझ एक/डेढ घण्टा फोटो खिच्नमै बित्यो ।

चौथो दिन, बिहान २ घण्टा गाउँ डुलें । खाना खाएपछि११ बजेतिर भुजुङको

View from Ghanpokhara
घनपोखरा गाउँ भित्रको दृष्य ।

पारिको गाउँ जाने निर्णय गरेँ । भुजुङ गाउँको पारि मिदिम खोला तरेर झुरे र काइयो झरना हेर्दै वनको बाटो हुँदै गएँ । भुजुङ गाउँ रमाइलो लाग्यो । धान पाकेका खेतले सुन्दरता थपेको थियो ।

बस्ती भरी फोटो खिचेँ । पारि गाउँबाट फेरि साँझ भुजुङमै फर्केँ । गुरुङ गाउँ बस्ती घुम्न एकदमै मन पर्छ । गुरुङ र नेवारका घर एकै प्रकृतिका, मिलेको समाज, बाक्लो बस्ती, गुच्चमुच्च घरले मन आनन्दित बनाउँछ ।

Tourist Village Bhujung
पर्यटकीय गाउँ भुजुङ ।

पाँचौँ दिन, म भुजुङमै थिए । फेसबुकमा घलेगाउँको फोटो अपलोड गरेकाले स्कुल पढ्दाका साथी प्रभाकर राजा भारती र लसता जोशी मलाई भेट्न आइपुगे । उनीहरूसँगै बस्ती घुमेँ ।

छैटौँ दिन, मेरो योजना बेसीसहर झरेर बन्दिपुर पुग्ने थियो । तर, काठमाडौँबाट अर्को साथी प्रसन्न श्रेष्ठले आफू आउँदै छु भनेर फोन गरे । डुम्रेमा आएर उनीसँग भेट भयो । हामी दुवै जना पोखरा गएर बेगनासमा बस्यौँ ।

A view of Bandipur
बन्दिपुर ।

सातौँ दिन हामीले रुपा ताल गएर चराको अवलोकन गर्‍यौँ । रुपा तालमा चरा र वरिपरिको दृश्य खिच्यौँ । प्रसन्नलाई पनि चराको फोटो खिच्न मन पर्छ । भोलिपल्ट पनि रुपा तालतिरै गएर चरा हेर्‍यौ र फोटो खिच्यौँ । अनि बन्दीपुरतिर हिड्यौं । साँझ बन्दिपुर पुगेर पनि फोटोग्राफी गरियो ।

नवौँ दिन, सूर्योदयको दृश्य कैद गरियो । मलाई यो औधी मन पर्छ । बन्दीपुरमा पनि सूर्योदयको दृश्य खिचेर घुम्न सुरु गरियो । त्यसै दिन फर्कनु पर्ने पनि थियो । आँबुखैरेनीसम्म प्रसन्न र म सँगै फर्कियौँ । उ, काठमाडौँ लाग्यो । म बारपाकतिर हिँडेँ । तीन वटा गाडी फेरेर बल्लतल्ल बारपाक पुगियो । भूकम्पको केन्द्रबिन्दु भएकाले बारपाक घुम्ने रहर लागेको हो ।

A Nepali Village Barpak
बारपाक ।

दसौँ दिन, बारपाकको रहन–सहनको फोटो खिच्नमै रमाएँ । साँझ ४ बजेतिर काठमाडौँतिर हिँडेँ । ९ रात र १० दिनपछि म काठमाडौँ फर्किएँ ।

घलेगाउँ, घनपोखरा र भुजुङ तीन वटै गाउँको स्वागत र विदाईका क्षणले मेरो यात्रा अविस्मरणीय बनायो । गाउँमा स्थानीय दाल, भात, तरकारी, अचार खाना र कोदोको ढिँडो, सेल–चिया नास्ता । भुजुङमा फूल माला र सेतो टीकासहितको त्यो आतिथ्य कसरी बिर्सन सकिएला र ? घलेगाउँ, जसले मलाई पुराना साथीसित भेट जुरायो ।

–चागल, छाउनीका स्थायी बासिन्दा श्रेष्ठ फोटोग्राफर तथा ग्राफिक डिजाइनर हुन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…