भोटेकोशीमा मंलबारदेखि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता
काठमाडौं– आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मंगलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ ।
नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘१८ औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ हुने भएको हो । नाराले दिएको जानकारी अनुसार साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको र्याफ्टिङ तथा कायाक प्रतियोगिता गर्न लागेको हो ।
नाराका अध्यक्ष गंगाप्रसाद नेपालले हरेक वर्षझैं यसवर्ष पनि नाराले जलयात्रामार्फत मुलुकको पर्यटन प्रवर्द्धनका लागि कायाक र कर्पोरेट र्याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । ‘प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायाक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागी गराएर एक विधामा समूहगत र्याफ्टिङ रेस प्रतियोगिता गर्नेछौं,’ उनले भने ।
नाराका महासचिव शिशिर खनालले यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशी नदीमा र्याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लिएको उद्देश्यअनुरूप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवर्द्धन गर्न प्रतियोगिताले सहयोग पुग्ने महासचिव खनालले बताए ।
कर्पोरेट र्याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टिमलाई रु ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ । र्याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख नगद, प्रशंसापत्र र मेडल, दोस्रो हुने समूहलाई ५० हजार प्रशंसापत्र र मेडल तथा तेस्रो हुने समूहलाई २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ ।
यस्तै कायाकतर्फ दर्ता शुल्क विदेशी खेलाडीलाई रु पाँच हजार ५०० र स्वदेशी खेलाडीलाई ३ हजार लाग्नेछ । तीनै प्रकारका कायाकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराले जनाएको छ ।
नाराले गतवर्ष लमजुङको मर्स्याङ्दी नदीमा कायाक तथा र्याफ्टिङ रेस प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ३ सय खेलाडीको सहभागिता रहनेछन् ।
सन् २००२ बाट कायाक र र्याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता रहने सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै ६० लाख ५० हजार खर्च लाग्ने नाराले जनाएको छ ।
–रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…