November 25, 2019

बुद्ध एयरले प्रदेश १ बाट पोखरा र काठमाडौं उडान भर्ने

Buddha air Ramp
बुद्ध एयरको जहाज ।

विराटनगर– बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौं तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजित कार्यक्रममा उनले परीक्षणस्वरुप छ महिना सञ्चालन गरिने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा जारी राख्ने जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पर्‌याउन प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ थियो । सुरुमा सातामा तीन दिन सेवा सञ्चालन गर्ने बस्नेतले बताए।

उक्त अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पुर्‌याउनु नै समृद्धिको सुरुआत भएको बताए । उनले यो सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने जानकारी दिए। विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४ सय मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…