November 26, 2019

भ्रमण वर्षको उद्घाटनमा ४० देशका पर्यटनमन्त्री सहभागी हुने

tourism minister of nepal on visit nepal 2020काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा ४० मुलुकका पर्यटन मन्त्रीको सहभागिता हुने बताएका छन् ।

मङ्गलवार गैरसरकारी संस्थाहरूसँग भ्रमण वर्षका सन्दर्भमा आयोजित बैठकका क्रममा उनले उक्त कुरा बताएका हुन् ।

उनले भ्रमण वर्ष सरकारले मात्र गरेर सफल नहुने भन्दै गैरसरकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । भ्रमण वर्षको उद्घाटन जनवरी १ का दिन दशरथ रङ्गशालाबाट गरिने भएको छ ।

उनले भिसा प्रक्रिया र अध्यागमनमा गरिएको सुधारले पर्यटकलाई उत्साहित बनाउने पनि उल्लेख गरे । ‘२० लाख पर्यटक भित्र्याउन सरकारी पहल एक्लैले सम्भव छैन’ मन्त्री भट्टराईले भने, ‘भ्रमण वर्ष सफल पर्नका लागि गैरसरकारी संस्थाहरुले जनचेतना फैलाउने, प्रवर्द्धन गर्ने र प्रचारप्रसार गर्ने काममा सहयोग पुर्‍याउन सक्छ ।’

उनले गैरसरकारी संस्थाहरूसँग मिलेर एग्रो र इको टुरिजम सम्बन्धी काम गर्न सकिने पनि उल्लेख गरे । उनले आन्तरिक विमानस्थलहरूलाई सुधार गर्ने योजना बनेको उल्लेख गर्दै स्वदेशी र विदेशीलाई समान भाडा दर कायम गर्न पहल गरिरहेको पनि बताए ।

साथै एक हजार ट्याक्सी चालकलाई तालिम दिन लागिएको पनि उनको भनाई थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…