इलुङ झरना पुग्न पदमार्ग निर्माण
दमौली– व्यवसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पुग्न स्थानीयले पदमार्ग निर्माण गरेका छन् । भीमाद नगरपालिका–९ पाथर्दीका स्थानीयले ४५ दिन श्रमदान गरेर पदमार्ग निर्माण गरेका हुन् ।
भीमाद नगरपालिकाले पदमार्ग निर्माणका लागि पाँच लाख बजेट विनियोजन गरेको थियो । श्रमदानमार्फत् १५ लाख बढीको काम गरेको स्थानीय शिवकुमार आलेले बताए । आलेका अनुसार पदमार्ग निर्माणका लागि यहाँका ५० भन्दा बढी स्थानीय दैनिक खटिएका थिए ।
श्रमदानमा नआउने स्थानीयलाई जरिवाना गरिएको आलेले जानकारी दिए । ‘दैनिक श्रमदानमा नआउनेलाई दिनको ५०० जरिवानाको निर्णय गरिएको थियो,’ आलेले भने, ‘श्रमदानमा नआउने केहीलाई जरिवाना पनि तिरायाैं।’ झरनासम्म पुग्न मोटरमार्ग नरहेकोले निर्माणका सामग्री स्थानीयले बोकेरै पुर्याएका थिए ।
इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुङ्गाले छापेर पदमार्ग निर्माण गरिएको छ । केही ठाउँमा रेलिङसमेत हालिएको छ । ७७ मिटर भागमा ढुङ्गा छापेर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष इमान थापाले बताए ।
उक्त झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ मा पनि दश लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिनेछ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र चेञ्जिङ रुम निर्माण गर्ने तयारी थालिएको थापाले बताए ।
थापाका अनुसार झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालीम सञ्चालन गरिनेछ । ‘झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ,’ उनले भने,’अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङ सम्बन्धी तालिम दिने सोचमा छांै ।’ ४० मिटर अग्लो झरनामा गत मंसिर १६ गते सफल परीक्षण भएको थियो ।
झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा होमस्टे सुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो । यहाँका १० घरमा होमस्टे सञ्चालनमा छ ।
स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरबिरसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्नेको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको उक्त खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीयवासी दिलबहादुर थापाले बताए ।
थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस् रोगव्यादी नलागोस् भनेर परम्परागत रुपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ । उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ ।
– रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…