November 27, 2019

यस्तो छ सुदूरपश्चिमको ‘भू–स्वर्ग’ खप्तड

डोटी– कुनैबेला निगालोको जङ्गलका रुपमा चिनिँदै आइएको खप्तड क्षेत्र पछिल्लो समय प्रकृतिको अनुपम उपहारको रुपमा संसारभर चिनिँदै गएको छ । सुदूरपश्चिमको ‘भू–स्वर्ग’ मानिने खप्तड क्षेत्रलाई देशभित्र र बाहिर चिनाउन स्थानीय र संघ संस्था अग्रसर भएका छन् ।

असाधारण तपस्वी खप्तड बाबाले ५० वर्ष तपस्या गरेपछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’ को उपनाम दिएका थिए ।

उनी आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन् । सन् १८८० मा भारतको काश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विसं १९८६ मा नेपाल आएका थिए । उनले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबीबीएस र बेलायतबाट शल्य चिकित्साबारे अध्ययन गरेका थिए ।

काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शन अध्ययन गरेपछि गहन साधनाका लागि उनले नेपालको खप्तड लेक रोजेका थिए । उनका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन पुस्तकहरू प्रकाशित छन् । प्रकाशन हुन नसकेका उनकै हस्तलिखित अरु थुपै कृतिहरू विभिन्न मन्दिरहरूमा रहेका छन् ।

खप्तड बाबाको विसं २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो । खप्तड बाबाले भने झै खप्तड भू–स्वर्ग भन्दा कम नभएको यहाँका स्थानियवासीको दाबी छ । खप्तड क्षेत्रमा पर्यटकहरु भित्र्याउन अहिले सुदूरपश्चिमेलीहरु रातदिन खटिरहेका छन् । गलैंचा बिच्छाए झै लाग्ने विशाल हरिया फाँटहरु, मनै लोभ्याउने रङ्गीचङ्गी फूल, आश्चर्य लाग्ने त्यहाँको मौसम सायदै पृथ्वीका कुनै कुनामा भेटिएलान् ।

बाइस पाटन ५२ झोती भएको नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड क्षेत्र । हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य पनि भएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए । उनले भने, ‘सुदूरपश्चिम आउने पर्यटकका लागि खप्तड नपुगी नहुने ठाउँ हो । खप्तड पुग्दा मनका अशान्ति सबै हराउने छन् ।’

चार रैथानेसहित १३५ प्रजातिका फूल खप्तडमा नियाल्न सकिन्छ । यहाँ २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी हेर्न पाइन्छ । विश्वमै दुर्लभ मानिने हरियो छेपारो खप्तडमा पाइन्छ । बाह्रै महिना पानीको सतह एकनासको हुने विशेषता रहेको १५० मिटर लामो ५० मिटर चौडा दह पनि यहाँ छ । सहस्रलिङ्ग, नागढुङ्गा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार हुन् । प्रकृतिले खप्तड धनी छ नै । धार्मिक रुपले पनि यो त्यतिकै प्रसिद्ध छ ।

‘खप्तड क्षेत्र जति प्राकृतिक रुपमा धनी छ, त्यत्ति नै धार्मिक रुपमा पनि ओजपूर्ण छ । खप्तड पुगे घर फिर्ता हुन मन लाग्दैन,’ पूर्वीचौकी गाउँपालिकाका कांग्रेस नेता रामप्रसाद उपाध्यायले भने । खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ । गंगादशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्यो सँगै खप्तड बाबाको कुटी छ यहाँ । समुद्री सतहदेखि करीब दुई हजार ७ सय देखि तीन हजार २ सय २७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २ सय २५ वर्गकिलोमिटरको क्षेत्रफलमा छ । कहिले हिउभित्र लुक्ने त कहिले रङ्गीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषय पनि बनेको छ ।

खप्तड पुगेर प्राकृतिक सुन्दरताको आनन्द लिने मात्र होइनन्, धार्मिक आस्था राख्नेहरु पनि अधिक छन् । त्रिवेणी, खापरदह, सहस्रलिङ्ग, नागढुङ्गा, गणेशस्थान जस्ता साँस्कृतिक महत्व बोकेका धार्मिक स्थलहरु पनि खप्तडमा रहेका छन् । गङ्गादशहराको बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ ।

पर्यटनका दृष्टिले खप्तड अत्यन्त उर्बर क्षेत्र भएको स्थानीयवासीको दाबी छ । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, बाजुरा र डोटीको आर्थिक रुपले सबल बन्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर खड्काले बताउँछन् ।

खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटनसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्व अध्यक्ष पूर्णराज जोशीले बताए ।

पर्यटन बाहेक खप्तडको जडीबुटी र वनस्पति अर्को आयस्रोत हुन् । जङ्गली विषदेखि संजीवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्र आउनुभएका अनुसन्धानकर्ता नारायण रुपाखेती बताउँछन् । खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रुपमा समेत काम गरिसकेका रुपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने पनि सिङ्गो सुदूरपश्चिम धानिने दाबी गरे ।

खप्तडको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि विसं २०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन गरिएको थियो । त्यसयता झण्डै २२ करोड रुपैयाँ विकास समितिमा आइसकेको छ तर, अहिलेसम्म पर्यटकलाई खाने बस्ने समेत खासै व्यवस्था हुन सकेको छैन । खप्तडको बिचपानी र पाटनमा दुई वटा विश्राम गृह बनाइएको भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किएका सञ्चारकर्मी मोहन शाहीले बताए ।

हरेक समिति र त्यहाँका कर्मचारी वर्षेनी आर्थिक अनियमितताको आरोपले मुछिँदै आएका छन् । खप्तड मध्यवर्ती क्षेत्र विसं २०६१ सालमा गठन भएको हो । खप्तडको मध्यवर्ती क्षेत्रअन्तर्गत चार जिल्लाका तत्कालीन २१ गाविस छन् । निकुञ्जको आम्दानी न्यून छ ।

– विमलबहादुर विष्ट (रासस)

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…