गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो, ९ महिनापछि व्यवसायिक उडान थालिने
काठमाडाैं– राष्ट्रिय गौरवको आयोजना भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणले तीब्रता पाएको छ। अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका काम धमाधम भइरहेका छन् ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सन् २०२० को मार्च महिनाभित्रै विमानस्थल सञ्चालन गर्नेगरी आयोजनाको कामको गति बढाइएको छ । पूर्वाधार निर्माण सकेर त्यसको तीन महिनापछि व्यावसायिक उडान थाल्ने योजना बनाएको छ ।
आयोजनाको तयारीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा ल्याइएको छ । गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी दिइएका तिवारीले प्राधिकरणका महानिर्देशक राजन पोखरेलको मातहतमा रहेर गौतमबुद्ध विमानस्थलको शीघ्र सञ्चालनको तयारीका लागि आवश्यक सहजकर्ताको काम हुनेछ ।
गौतमबुद्ध विमानस्थलको पछिल्लो प्रगतिबारे राससलाई जानकारी दिँदै तिवारीले विमानस्थलको व्यावसायिक उडान सञ्चालनका आवश्यक पूर्वाधार तथा प्राविधिक उपकरण जडानको कामलाई तीव्रता दिइने बताउनुभयो । तिवारीसहित प्राधिकरणका अन्य धेरै उच्च तहका कर्मचारीलाई विभिन्न विभागको जिम्मेवारी हेर्नेगरी सरुवा गरिएको छ ।
अहिलेकै अवस्थामा निर्धारित समयभित्र उडान भर्न कठिनाइ रहेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारको प्रगति रहे पनि विमानस्थलमा सञ्चारका उपकरण जडानका लागि लामो समय लाग्ने बताए। अबको ९ महिनापछि मात्रै विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
तर, हाल गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुखको रूपमा काम गरिरहरेका प्रवेश अधिकारीले विमानस्थल निर्माणको समग्रतामा ८४ दशमलव २५ प्रतिशत प्रगति भएको जानकारी दिए । उनका अनुसार अबको मुख्य काम विमानस्थलको टर्मिनल भवनको फिनिसिङ, टर्मिनल भवनभित्र जडान हुने केही उपकरण तथा धावनमार्ग र ट्याक्सी वेको काम धमाधम भइरहेको छ । दुवै सत्रमा काम भइरहेको विमानस्थलमा रातिको समयमा टर्मिनल फिनिसिङको काम भइरहेको छ ।
विमानस्थलको कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग यसअघि नै कालोपत्र भइसकेको छ । भ्रमण वर्षको अवधिमै यो विमानस्थलालाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणका उच्च अधिकारीले बताउँदै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनका लागि विशेष प्राथमिकता दिएको र भ्रमण वर्षको शुभारम्भसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताउँदै आएका छन् ।
डिसेम्बर महिनाभित्र भौतिक संरचना निर्माण सक्ने र उपकरण जडानका समेत काम सकेर सन् २०२० मार्चको अन्त्यतिर सञ्चालनमा ल्याउने तयारी गरिएको आयोजना प्रमुख अधिकारीले बताए ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरुमा उद्घाटन भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि दुई वर्षको निर्माण समयावधि थपिएको थियो । यो आयोजनका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड हाराहारी खर्च हुने जनाइएको छ ।
– सिबी अधिकारी (रासस)
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…