तेह्रौँ सागमा भाग लिन पाँच हजार खेलाडी, प्रशिक्षक र अफिसियल आउँदै
काठमाडौं । १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद प्रतियोगिता (साग) मा भाग लिनका लागि करीब पाँच हजार खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी नेपाल आउने भएको छ । कतिपय आउने क्रम सुरु भइसकेको बताइएको छ ।
सार्क मुलुकहरु भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काबाट आउने खेलाडी, प्रशिक्षक र अफिसियललाई राख्नका लागि राजधानीमा मात्र करीब सय वटा होटल बुक गरिएको १३औं साग तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जनाएको राससले उल्लेख गरेको छ ।
काठमाडौं, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म उक्त प्रतियोगिता हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रङ्गशालामा एक विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गर्नेछिन् ।
करीब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने खेलकुद मन्त्री जगत विश्वकर्माले बताएका छन् । उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहने बताइएको छ ।
सागलाई सफल तुल्याउन करीब २० हजार सुरक्षाकर्मी खटाइने छ भने पाँच सय स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
प्रतियोगिता आयोजना गर्न दशरथ रङ्गशलाको पुनः निर्माण काम पूरा भएको छ । पोखराको रङ्गशालाको काम पनि अन्तिमरुपमा पुगेको बताइएको छ । प्रतियोगितामा समावेश २६ खेलमध्ये महिला फुटवल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पोखरामा हुने छ । ऐतिहासिक नगरी जनकपुरमा कुस्ती हुने छ । नेपालले प्रतियोगितामा भाग लिने १९ विधाका खेलाडीलाई विदेशमा प्रशिक्षणमा पठाएको थियो भने सात खेल विधाका प्रशिक्षकलाई नेपालमा बोलाएर खेलाडीलाई प्रशिक्षण दिइएको छ ।
देशभर साग सम्बन्धी प्रतियोगिताको प्रचारप्रसार र खेलकूदको माहोल बनाउने क्रममा मुलुकका सातै प्रदेशमा यसअघि नै १३औं सागको ओलम्पिक टर्च पुर्याइसकिएको छ ।
प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिता बुधबारबाट शुरुआत भइसकेको छ । यस प्रतियोगितामा सातै देशका खेलाडीले भाग लिएको एउटै विधा भनेको ब्याड्मिन्टन हो । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
१३औं सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक रहेको छ । प्रतियोगिता अन्तर्गत सबैभन्दा बढी प्रतिस्पर्धा पौडी विधामा ३८ वटा स्वर्ण पदक रहेका छन् ।
प्रतियोगितामा ५९४ खेलाडीसहित ७८० जनाको नेपाली टोलीको सहभागिता रहनेछ ।
सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यो पटकको सागलाई हेरिएको छ । दक्षिण एशियाली मुलुकबाट प्रतियोगितामा भाग लिन आउने खेलाडी, प्रशिक्षक, दर्शक, अफिसियललगायतका पाहुनाको स्वागत गर्ने क्रममा नेपालको रहनसहन, वेषभूषासहित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।
काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्मा बताएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…