December 1, 2019

भ्रमण वर्ष सचिवालय र नाट्टाबीच सम्झौता, ट्राभल कम्पनीले १० प्रतिशत छुट दिने

काठमाडाैं– नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच १३ बुँदे सम्झौता भएको छ ।

नेपालमा पर्यटन ल्याउन ठूलो भूमिका खेल्दै आएको नेपालकै जेठो पर्यटनसम्बन्धी संस्था नाट्टाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग गर्ने भएको हो ।

सम्झौतामा सचिवालयकातर्फबाट संयोजक सुरज बैद्य तथा नाट्टातर्फबाट अध्यक्ष सीएन पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ट्राभल र टुर कम्पनीहरुले आफ्ना सेवाहरुमा १० प्रतिशत छुट दिने, सम्झौतामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नाट्टाका सदस्यहरुको सक्रिय सहभागिता र सक्रियता रहने छ ।

त्यस्तै नाट्टाका सम्पूर्ण सदस्यहरुले आफ्ना सम्पूर्ण प्रचार सामाग्री तथा वेभसाईटमा नेपाल भ्रमण वर्षको लोगो राख्ने, संस्था मातहतमा रहेका संस्थाहरुलाई पनि सक्रिय सहभागिता जनाउन लगाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडड्यान प्राधिकरणहरुसँग समन्वय गर्ने, डिसेम्बर अन्तिम तथा जनवरी १ मा दीप प्रज्वलन गर्ने, नेपाल भ्रमण वर्षको सम्पूर्ण कार्यक्रममा नाट्टाको सहभागिता रहने लगायतका बुँदामा सम्झौता भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज बैद्यले नाट्टासँग जोडिन पाउँदा खुसी लागेको बताए । त्यस्तै नाट्टाका अध्यक्ष सिएन पाण्डेले सरकारले अगाडि सारेको नेपाल भ्रमण वर्षलाई सफल पार्न आफ्ना सदस्यहरुले सेवामा १० प्रतिशत छुट दिने बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…