December 3, 2019

युद्ध काैशल भुँवा सुदूरपश्चिममा यसरी खेल्छन्

सुदूरपश्चिममा भुँवा नाचको राैनक

डोटीमा भुँवा खेल्दै कलाकार ।

डोटी– सुदूरपश्चिममा भुँवा नाच (खेल) को राैनक छाएको छ । ५ देखि ७ दिनसम्म खेल खेलिने भुँवा नाच दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट सुरु भएको हो ।

डोटी राजाका पालादेखि भुँवा खेल्न सुरु गरिएको हो । कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा ७ देखि ८ प्रकारसम्म भुवाँखेल खेलिन्छ । सैनिकले तालीमस्वरुप पनि यो खेल खेल्ने गर्छन् । युद्ध मैदानमा दुश्मनसँग कसरी लड्ने र विजय हासिल गर्ने भन्ने कला पनि उक्त नाचमा देखाइने गरेको स्थानीयवासी तथा नेपाली काङ्ग्रेसका नेता विजय खड्काले बताए। ‘पुरानो युद्धकला जगेर्ना गर्ने उद्देश्यले यो नाच खेलिन्छ,’ उनले भने, ‘युद्धमा आफू कसरी बच्ने र दुश्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनक नै अर्कै हुन्छ ।’

हातहातमा नाङ्गो तरबार बोकी खेलाडीले पुरानो राजाको पालाका पोशाक पहिरिएर पङ्क्तिबद्ध तरिकाले यो खेल खेल्ने गर्छन् । विजयादशमीको दिन जिल्ला सदरमुकाम सिलगढीको कालढुङ्गा भन्ने ठाउँमा उराउ बाजा बजाएपछि यो खेल सुरु हुने भए पनि यहाँका स्थानीयवासीले मङ्सिरको तेस्रो सातामा मात्र उक्त खेलको शुरुआत गर्ने गरेको स्थानीयवासी दीपकबहादुर भण्डारीले बताए। उनले भने, ‘उराउ बाजा बजाएपछि खेल हुनेबारे निश्चित हुन्छ, तर स्थानीयवासीको खेतीपातीको काम सकिएपछि मात्रै यो खेल सञ्चालन हुन्छ ।’

भुँवाखेल डोटीलगायत यहाँका पहाडी जिल्ला बाजुरा, अछाम तथा बझाङमा समेत खेल्ने गरिन्छ । दिनमा नाङ्गो तरबारले भुँवा खेल्ने तथा राति सुदूरपश्चिमेली डेउडा तथा प्राचीन राजारजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन् । नाच अवधिमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्वराणाकालीन दरबार डोटी गौँडामा समेत यो खेल देखाई छैटाैं दिनमा कालढुङ्गामा नै गएर विसर्जन हुने गरेको दिपायलका गणेश भण्डारीले बताए ।

यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो । यसमा दुई खेलाडीले हातमा नाङ्गो तरबार समाती नाच्दानाच्दै एकार्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्छन् । भुँवा डेउडामा सबै खेलाडी सामेल हुने भए पनि ‘घाँ’ खेलमा भने सबैलाई समावेश गरिँदैन ।

यस खेलमा चोटपटक लाग्न सक्ने भएकाले पोख्तलाई मात्रै खेल्न दिने नियम रहेको ‘घाँ’ खेलका सिपालु स्थानीयवासी डम्बरबहादुर भण्डारीले बताए । उनले भने, ”घाँ’ खेल अलि खतरनाक भएकाले हामी सबैलाई उक्त खेलमा समावेश गर्दैनौँ, पोख्त र युवालाई खेल्न दिन्छौँ ।’ नाच हेर्न छिमेकी जिल्लाबाट पनि आउने गर्छन् । जिल्ला बाहिर तथा ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न आउने भएकाले उक्त खेल झन् रोचक तथा रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् ।

– रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…