December 4, 2019

सीता एयरलाइन्सद्वारा तीन विमानस्थलमा परीक्षण उडान

ताप्लेजुङ– सीता एयरले प्रदेश–१ का तीन विमानस्थलमा म‌गलबार परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो ।

मङ्सिर २७ देखि ताप्लेजुङस्थित पाथिभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोरदोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिए । उनका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा प्रदेश राजधानी विराटनगरबाट २० मिनेटको समयमा ताप्लेजुङको सुकेटार विमानस्थलमा जहाज अवतरण भएको थियो । काठमाडाैं बाट उडेको जहाज रुम्जाटार र त्यसपछि लामिडाँडा गएको थियो ।

लामिडाँडाबाट सिधै ताप्लेजुङ आउने प्रयास भए पनि मौसमका कारण विराटनगर अवतरण भई मौसम अनुकूलपछि त्यहाँबाट सुकेटार आएको नागरिक उड्डयन प्राधिकरण सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले जानकारी दिए ।

पाथीभरा र हलेसीमा तीर्थयात्री ओसार्ने योजनाअनुसार परीक्षण भएको र यसको नेतृत्व प्रदेश–१ को विराट होलिडे ग्रुपले गरेको जनाइएको छ । दुई महिनासम्म प्याकेजमा चलाउने र त्यसपछि नियमित उडान गर्ने उद्देश्य रहेको एयरलाइन्सले जनाएको छ ।

यस अवधिमा विराटनगरबाट सुकेटारसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा पाथीभरा दर्शनका लागि तीर्थयात्री लैजाने बताइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…