December 22, 2019

प्रदेश १ मा भ्रमण वर्षको शुभारम्भ तयारी भव्य

Visit Nepal 2020

विराटनगर– प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन् ।

यही पुस १६ गते विराटनगरस्थित सहिद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवर्द्धन समितिको बैठकमा उनले जानकारी दिए ।

मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं भव्य बनाउन बाँकी रहेका कामलाई समेत द्रुतगतिमा सम्पन्न गर्न निर्देशन दिनुभयो । रङ्गशालामा हुने उद्घाटन कार्यक्रममा १० हजारको सहभागिता गराइनुका साथै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी प्रदर्शन, १४ जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारका प्रदर्शनी कक्षसमेत राखिने मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले बताए।

एयर बेलुनबाट भ्रमणवर्ष २०२० को झण्डा फहराउनुका साथै हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने छ । उद्घाटनपूर्व साइकल/मोटरसाइकल  र्‌याली, विभिन्न नाका र विमानस्थलमा आउने पर्यटकलाई स्वागत गर्नेसमेत तयारी पूर्ण भएको मूल समारोह व्यवस्थापन उपसमितिले गरेको छ ।

पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत रहेका मन्त्री कुसियतले उद्घाटनलाई भव्य बनाउन हालसम्म भएका प्रगतिका विषयमा समेत उपसमितिहरुसँग छलफल गरेका थिए । उक्त अवसरमा उपसमिति संयोजकहरुले आ–आफ्ना समितिले गरेका र अब बाँकी रहेका कामका बिषयमा जानकारी गराएका थिए ।

भ्रमण वर्ष सफल बनाउन सबै जिल्लालाई समेटेर विभिन्न विषयगत १२ उपसमिति बनाइएको छ । मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन पुस १६ गते गर्ने मूल समितिले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…