December 24, 2019

राइड थ्रु सिन्धुलीगढीः साइकलमा २ सय ५० किलोमिटर

काठमाडौं । अहिले हामी प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथमा छौं । चढ्दो काठमाडौंको जाडोलाई छिचोल्दै एकाविहानै यहाँ भेला भएकाहरु ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्राका लागि जम्मा भएका हुन् ।

मुलुककै प्रमुख दुई धार्मिक तथा साँस्कृति स्थल र एउटा ऐतिहासिक गढीलाई समेटेर तयार गरिएको यो साइकल यात्राले काठमाडौं र जनकपुरलाई जोड्ने जमर्को गरेको छ । पहाड र मधेसलाई समेट्ने कोशिस गरिएको छ ।

काठमाडौंको पशुपतिनाथबाट सुरु हुने यो यात्रा नेपाल आक्रमण गर्न आएका अंग्रेजलाई परास्त गरेको सिन्धुलीगढी हुँदै मिथिला संस्कृतिको केन्द्र जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

समृद्ध सिन्धुली अभियानले सन् २०१४ देखि वार्षिक रुपमा आयोजना गर्दै आएको ‘राइट थ्रु सिन्धुलीगढी’ को कुल लम्बाई २ सय ५० किलोमिटर छ । यो दुरी पार गर्ने समय भने तीन दिन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले साइकल चलाएर यस वर्षको साइकल यात्राको शुभराम्भ गरे ।

बिहान आठ बजे पशुपतिनाथ क्षेत्रबाट सुरु भएको यो साइकल यात्रा कोटेश्वर हुँदै भक्तपुर आइपुगेको छ । यहाँ भक्तपुरमा स्थानीयले स्वागत गरेका छन् । भक्तपुरको प्रख्यात जुजु धौं खुवाएर यात्रा सफलताको कामना गरेका छन् ।

धुलिखेल, भकुण्डे बेंशी, मंगलटार, झगाझोली बजारमा पनि उत्साही स्थानीयहरुले साइकल यात्रीहरुलाई स्वागत/सत्कार गरेका छन् । कुनै ठाउँमा पानीको व्यवस्था गरिएको छ, कतै दही त कतै मिठो नेवारी परिकार तयार छ । यात्रा सफलताको कामनासहित टीका लगाई दिएका छन्, माला पहिर्‍याइ दिएका छन् ।

साँझ पर्नै लाग्दा करीब ५ बजे मूलकोट आइपुग्यौं । आजको बास मूलकोटमै हो । विहान ८ बजे पशुपतिनाथबाट प्याडल चलाएर ९५ किलोमिटर हिंडेका यात्रीहरु थाकेका छन् । तापनि स्थानीयले आयोजना गरेको साँस्कृतिक कार्यक्रम भब्य छ । कतिपय साइकल यात्रीले साँस्कृतिक कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिएका छन् ।

आज यात्राको दोस्रो दिन । चिया नास्तापछि बिहान आठ बजे नै साइकल यात्रा सुरु भएको छ । अबको बाटो केही उकालो छ । उकालो भएपनि लोभ लाग्दो घुम्ती र सुनकोशीको किनारै–किनार हुँदै खुर्कोट पुगिन्छ । यो यात्रा रोमाञ्चक छ ।

खुर्कोटमा पनि स्थानीयले स्वागत गर्दै खाजा खुवाए । अबको बाटो उकालो मात्र छैन, घुमाउरो पनि छ । करीब तीन घण्टामा खनियाँखर्क पुगियो । यहाँ जुनार महोत्सव चलिरहेको छ । यात्रीहरुकै लागि स्थानीयले जुनारको जुस तयार पारेका छन् । महोत्सवको माहोलमा केही समय रमाएपछि यात्रीहरुको टोली सिन्धुलीगढीतर्फ अघि बढ्यो । यो यात्राको एउटा मुख्य आकर्षण यही गढी हो । यसको ऐतिहासिक तथा पर्यटकीय महत्वको प्रचार यो यात्राको प्रमुख उदेश्य पनि हो ।

सन् १८२४ मा नेपाल आक्रमण गर्न आएका अंग्रेज फौजलाई बंशु गुरुङको नेतृत्वमा रहेको नेपाली फौजले हराएको ऐतिहासिक स्थल हो, सिन्धुलीगढी । यो ऐतिहासिक गढीमा साइकल यात्रीहरुले बिश्राम र अवलोकन मात्र गरेनन् । नेपाली बीरताको इतिहासको पनि सम्झना गरे । अझै पनि यहाँ गढीका भग्नावशेषहरु छन् । ४ हजार ६ सय ४८ फिटको उचाइबाट प्राकृतिक दृश्याबलोकन गरेर रमाए साइकल यात्रीहरु ।

अव फेरी ओरालो झर्ने बेला भयो । ओरालो नाङ्गबेली घुम्तीहरु पार गर्दै भद्रकाली मन्दिर, चियाबारी हुँदै सिन्धुली बसपार्क आइपुगेका छौं । आजको बास यही हो । स्थानीयले भव्य स्वागतको तयारी गरेका छन् । पञ्चेबाजाको धुनमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, अबिर, माला र खादले स्वागत गरिएको छ ।

दिनभर प्याडल चलाएर ६० किलोमिटर उकालो र ओरालो गुडेका यात्रीहरुले थकाइ भूलेका छन्, स्थानीयको मायाले । उनीहरु पञ्चेबाजाको धुनमा स्थानीय कलाकारहरुसंगै रमाएका छन् ।
आज काठमाडौंबाट हिडेको तेस्रो दिन । बिहानै सबै जना भेला भइसकेका छन् । आज यात्राको अन्तिम् दिन पनि हो । आज हामीले ९० किलोमिटरको यात्रा तय गर्नुछ । यद्यपी उकालो र ओरालो भन्दा पनि तराईका समथर भूमि धेरै छन् ।

सिन्धुली बसपार्कबाट माईस्थान मन्दिर, बर्दिबास, ढल्केबर, धनुषाधाम, कचुरी थेराहँुदै यात्रा जनकपुर सहरमा प्रवेश गरेको छ । पहाडी भूमिमा भन्दा यहाँको भूगोल मात्र होइन, रहन सहन, बोलीचाली र संस्कृति पनि फरक छ ।

यद्यपी स्वागतको तयारी भने उस्तै भव्य । साइकल यात्रीहरुको स्वागतमा मिथिलाको प्रमुख साँस्कृतिक अवयवको रुपमा रहेको झिंझिया नाच प्रस्तुत गरियो, ‘झिझिया नाइट ।’ स्वागत गर्न प्रमुख प्रतिपक्षी कांग्रेसका उपसभापति विमलेन्द्र निधि आफै आएका छन् ।

जनकपुरमा स्वागतका लागि विद्यालयका विद्यार्थी, महिला अधिकारकर्मी तथा विभिन्न संघ संस्थहरुसमेत सहभागी भएका छन् । यो महिला हिंसा विरुद्धको १६ दिने अभियानका बेला भएकाले पनि महिलाहरुको सहभागिता बिशेष छ ।

साइकल यात्रामा पनि कुल एक सय ७१ मध्ये १८ जना महिला साइकल यात्री छन् । उनीहरु मध्ये केहीलाई यूएन र ब्रिटिस काउन्सिलले प्रायोजन गरेका छन् ।

काठमाडौंको प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथबाट सुरु भएको यो साइकल यात्रा चौथों दिन जनकपुरमा स्थानीय विद्यार्थीहरुसंगै जानकी मन्दिरको परिक्रमा गरेर समाप्त भयो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यो यात्राले तराई र पहाडलाई मात्र जोडेको छैन । नेपाल घ्म्नका लागि पनि उत्प्रेरित गरेको आयोजकको बुझाइ रहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…