December 24, 2019

भ्रमण वर्ष २०२० का लागि बाँकेमा गन्तव्यको पहिचान

Banke National Park बाँके । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवर्द्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचीकृत गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिले बाँकेका सात स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो ।

गत मङ्सिर पहिलो साता बाँकेका गन्तव्य पहिचानका लागि तेजविक्रम शाहको अध्यक्षतामा बनेको समितिले बाँकेका सात स्थानीय तहका पर्यटकीय स्थलको सूची तयार गरेको थियो । स्थानीय तहसँगको समन्वयमा पर्यटकीय गन्तव्यको सूची तयार गरेको समितिका अध्यक्ष शाहले बताएका छन् ।

उनका अनुसार नरैनापुर गाउँपालिकाबाहेक सात स्थानीय तहले पर्यटकीय स्थल सूचीकरणका लागि समितिसामु प्रस्ताव गरेका थिए । समितिले नेपालगञ्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, खजुरा गाउँपालिका गौघाटस्थित झोलुङ्गे पुल र गुराँस सामुदायिक वन, बैजनाथ गाउँपालिकाको गाभर होमस्टे, जानकी गाउँपालिकाको जोगागाउँस्थित मन्दिर र तलाउ, राप्तीसोनारीको सिक्टा पुल र ढकेरीको बोटानिकल गार्डेनलाई सूचीमा समावेश गरेको छ ।

त्यस्तै, डुडुवा गाउँपालिकाको कमरशा बाबा मजार, कोहलपुर नगरपालिका अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जलाई बाँकेको पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरी सूचीकृत गरिएको छ । ‘बाँकेमा पहिचान गरिएको गन्तव्यहरुको प्रवर्द्धनका लागि प्रचार सामग्री प्रकाशन गर्ने तयारी भैरहेको छ,’ जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले भने ।

उनले जिल्लामा भ्रमण वर्ष सफल पार्न विभिन्न पाँच उपसमिति बनाएर तयारी गरिरहेको पनि समितिका पनि बताए । भ्रमण वर्षको अघिल्लो दिन डिसेम्बर ३१ मा बाँकेमा पर्यटन वर्ष शुभारम्भ कार्यक्रम आयोजना गर्ने जानकारी दिँदै श्रीवास्तवले भने, ‘भ्रमण वर्ष शुभारम्भमा मुख्यमन्त्रीलाई निम्तो दिँदैछौं । भ्रमण वर्षलाई भव्य र सभ्य बनाउन हामी लागिपरेका छौं ।’

भव्य आतिशबाजीसहित अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतलाई नेपाल भ्रमण वर्षको स्वागतका रुपमा नेपालगञ्जको होटल सिद्धार्थ परिसरमा औपचारिक कार्यक्रम गरिने भएको छ । समृद्धिको आधार पर्यटन नै भएकाले मुलुकको यो अभियानमा सहयोग र सहकार्य गर्न समितिले सम्पूर्ण बाँकेवासीमा आह्वान गरेको छ । समितिले पर्यटकलाई स्वागत गर्न संयोजक श्रीवास्तवको नेतृत्वमा भारतका मुख्य शहरहरुमा जाने निर्णयसमेत गरेको छ ।रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…