December 31, 2019

आज तमु ल्होछार, टुँडिखेलमा दिउँसो राष्ट्रपतिको सम्बोधन

 

Lhochar

काठमाडौँ– प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होछार’ पर्व मनाउँछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमु ल्होछार मूलआयोजक समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले बताए ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको समितिका महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिए।

प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम मङ्गलबार गरिने जनाइएको छ । जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ । तमुल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन् । जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ । पुस १५ गते अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत व्यक्तित्वले पनि सम्बोधन गर्नुहुने जनाइएको छ ।

‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदायको असन्तुष्टि छ । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

प्रधानमन्त्रीको सन्देश विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

ल्होछारका अवसरमा आज दिएको शुभकामना सन्देशमा उहाँले तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा गरेका छन् ।

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, वेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् भन्दै प्रधानमन्त्रीले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएको बताएका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।

सन्देशमा तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रूपमा लिइने गरेको तथा गुरुङ (तमु) भाषामा ‘ल्हो’ भनेको दिन, र ‘छार’लाई पुस १५ को रूपमा लिइने गरेको चर्चा गर्दै उहाँले भूगोलअनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्होछारलाई संसारभरि छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष वा वर्ग फेरिने दिनका रूपमा मनाउने गर्छन् भनेका छन् ।

“हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रूपमा रहेका, एकता र सहिष्णुताको यो पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ, विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्, नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ”, सन्देशमा प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

“विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको वास्तविकता प्रस्तुत गर्दै उनले लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो”, सन्देशमा उनले भनेका छन् । उक्त विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको प्रधानमन्त्रीले स्मरण पनि गराएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…