January 4, 2020

अन्तर्राष्ट्रिय विमानस्थलमा गौतमबुद्धको प्रतिमा

सिबी अधिकारी

Buddha in airport

काठमाडौ । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरुप धमाधम विमानस्थलको साजसज्जा र स्वरुप परिवर्तन गर्ने कार्य भइरहेको छ । सोहीअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको छ । विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गरे ।
‘वेलकम टू द ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको बुद्धको प्रतिमा सजाइएको छ । बुद्धको प्रतिमा स्थापित भएसँगै अब विदेशी पर्यटकले जहाजबाट ओर्लने बित्तिकै बुद्धको देश नेपालमा आएको अनुभव गर्नेछन् । पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महसुस गराउने बताए । “यात्रुको आवागनमा सहजै देखिने गरी बुद्धको प्रतिमा स्थापना गर्ने भन्ने योजना बनेको थियो, त्यसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको आगमन कक्ष सामुन्ने स्थापित गरेका छौँ, जहाजबाट ओर्लने बित्तिकै बुद्धको देश नेपालमा आइयो भन्ने उहाँहरुलाई अनुभव पैदा हुन्छ । यसले छुट्टै आनन्दको महसुस गराउनेछ”, उनले भने । करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत रु ७० लाख रहेको विमानस्थल कार्यालयले जनाएको छ । यसमा झण्डै २४ लाखको सुनको जलप लगाइएको छ ।
उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाएका हुन् । बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्नेछन् सहज रुपमा अवलोकन गर्न पाउनेछन् । बुद्धको प्रतिमा स्थापित भएसँगै विमानस्थललाई सुन्दर बनाउने काम शुरु भएको पर्यटनमन्त्री भट्टराईले बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने बाँकी कामहरु क्रमशः अघि बढाइने उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो । अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने विभिन्न आइटममध्ये बुद्धको प्रतिमा एक महत्वपूर्ण पाटो हो । जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टू नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । जुन विदेशी पर्यटकका लागि ‘सेल्फी जोन’ बनेको छ । योसँगै अब बुद्धको प्रतिमा पर्यटकलाई सेल्फी खिच्ने मुख्य क्षेत्र बन्नेछ । विमानस्थलभित्र नेपाली मौलिक कलासंस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने पर्यटनमन्त्रीको भनाइ थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…