January 21, 2020

डोली र डोला हेर्न थारू सङ्ग्रहालय

शुक्लाफाँटा नगरपालिका– ८ भल्कामा रहेको थारु संग्रहालयमा राखिएका परम्परागत गहना अवलोकन गर्दै आन्तरिक पर्यटक । संग्रहालयमा थारु समुदायको प्राचीन सरसामान राखिएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु / रासस

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारू सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन, सस्कृति र जनजीवनलाई सङग्रालयमा जीवन्त प्रस्तुत गरिएको छ । यसका लागि परम्परागत शैलीमा घर निर्माण तथा सौर्य ऊर्जा जडान समेत गरिएको छ ।

थारू समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागत रुपमा प्रयोग गर्ने वस्तु सङग्रालयमा राख्न १२ थारू गाउँका वडघरलाई जिम्मा दिइएको थियो । सङ्ग्रहालयका सचिव भागीराम चौधरीका अनुसार सङ्ग्रहालयमा थारू समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिएका छन् ।

हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्कीलगायतका सामग्रीले सङग्रालयलाई आकर्षक बनाइराखेका छन् । लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत सङ्ग्रहालय परिसरमा राखिएका छन् । थारू समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, विच्छयालगायतका गहनासमेत रहेका छन् ।

थारू समुदायका महिलाले लगाउने लेहंगा, चोली र पुरुषले लगाउने धोती, कमिज, अंगच्छा, विवाहमा प्रयोग हुने डोली, डोलासमेत सङ्ग्रहालयमा सजाइएका छन् । वडाध्यक्ष बहादुर महराले सङ्ग्रहालयलाई व्यवस्थित बनाउनका लागि थप बजेटको व्यवस्था गरी नमूनाका रुपमा सञ्चालन गरिने बताए । भल्का थारू समुदायको परम्परागत धार्मिकस्थलका रुपमा रहेको छ । कुण्डको पानी गर्मीमा चिसो र चिसोमा तातो हुने गर्दछ । माघी सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ । सांसद नरबहादुर धामीले सोमबार सङग्रालयको शुभारम्भ गरेका थिए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…