January 29, 2020

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा ‘ताप्लेजुङ साझ’, चर्चित कलाकारको प्रस्तुति हुने

काठमाडौँ– ताप्लेजुङको कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ १७ गते काठमाडौँमा ‘ताप्लेजुङ साँझ’ आयोजना हुने भएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रले कलाकर्मीको हित, संरक्षण, प्रवर्द्धन तथा उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापना गर्न साँझ आयोजना गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने साँझमा चर्चित कलाकार राजेशपायल राई, मनोज गजुरेल, मेलिना राई, झुमा लिम्बू, सुसन साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, बिना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङलगायतको प्रस्तुति रहने छ ।

सांस्कृतिक पर्यटन प्रर्वद्वनका लागि ताप्लेजुङको मौलिक संस्कृति च्याब्रुङ, धान नाच, हिमाली नृत्य स्याँब्रुलगायतको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । साँझमा अशोक लोहरुङ राईको सङ्गीत संयोजन, नृत्य संयोजनमा माधव प्रधान (प्रादेशिक सामूहिक नृत्य), दाबा लामा इलावा (हिमाली सामूहिक नृत्य), र मोहन मादेन (च्याँब्रुङ सामूहिक नृत्य) रहनेछ ।

साँझलाई सफल बनाउन र कलाकार कल्याणकारी कोष स्थापना गर्न ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यसअघि नै व्यक्तिगतरूपमा तीन लाख प्रदान गर्ने प्रतिबद्धता जनाएको संस्थाले जनाएको छ ।

साँझबाट सङ्कलित रकमको मूल हिस्सा कलाकार अक्षयकोषमा जम्मा हुनेछ भने केही रकम आर्थिक अभावले विद्यालय जान नपाएका ताप्लेजुङका असहाय बालबालिकाको शिक्षाका लागि स्थापित अक्षयकोषमा पनि रहने छ । कार्यक्रमको प्रायोजकका रूपमा नेपाल टेलिकम, प्राइम कमर्सियल बैंक, मेघा बैंक, प्रभु बैंक, बराह ज्वेलर्स, ताप्लेजुङमा सञ्चालित हाइड्रोपावर कम्पनी, गोर्खा ब्रुअरी, जावलाखेल डिष्टिलरीलगायत जिल्लाका व्यवसायीहरुको महत्वपूर्ण सहयोग रहेको विज्ञप्तिमा उल्लेख छ ।

ताप्लेजुङ साँझ कल्याणकारी कामका लागि कोसेढुङ्गा सावित हुने विश्वास लिएको कार्यक्रम संयोजक बलबहादुर तामाङले बताउनुभयो । ताप्लेजुङबाट काठमाडौँं आई विभिन्न पेशा र व्यवसायमा संलग्न ताप्लेजुङवासीबीच आपसी सहयोग, समन्वय तथा हार्दिकताको अभिवृद्धि गर्दै जिल्लाको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले विसं २०६२ मा ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँंको स्थापना भएको थियो ।

संस्थामा सबै पार्टीका राजनीतिज्ञ, सुरक्षा निकाय एवं निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारी, कूटनीतिज्ञ, समाजसेवी, व्यवसायी, कलाकर्मी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वको सहभागिता रहेको छ ।

जिल्लाको पर्यटन प्रवर्द्धनका लागि जिल्लामै हुने महोत्सवका साथै काठमाडौँमा पर्यटनसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रममा केन्द्रले विशेष भूमिका निर्वाह गर्दै आएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…