January 30, 2020

नेपाल देख्दा लोभिने बंगलादेशी घुम्न थोरै किन ?

१७ करोड जनसङ्ख्या भए पनि नेपाल आउने वार्षिक ३० हजार भन्दा कम

– नारायण ढुङ्गाना

Mardi Himal Trek

ढाका– मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण नेपालले अन्य मुलुकलाई झैँ बङ्गलादेशका नागरिकलाई पनि लोभ्याउने गरेको छ । मुलुकको मौलिक विशेषतालाई विश्वसामु पुर्‌याउने प्रयास कमजोर देखिए पनि जसले नेपालबारे थाहा पाएका छन्, उनीहरुमा नेपाल घुम्ने उत्कृट चाहना देखिन्छ ।

छुट्टै पहिचान बोकेकै कारण एकपटक नेपाल घुम्न आएका पर्यटक पुनः फर्कने गरेका तथ्याङ्कले देखाउँछ । पाँचपटक नेपाल घुमेका बङ्गलादेशी युवा नेता विप्पादित्य बसु पनि त्यसैको उदाहरण हुन् । उनमा अझै नेपाल भ्रमणको चाहना मरेको छैन । ‘विगतमा काठमाडौँ, विराटनगरलगायत क्षेत्र घुमेको हुँ, पोखरा जान पाएको छैन, यसपटक जाने इच्छा छ,’ उनले भने । यसपटक भ्रमण वर्ष परेको र अर्को महिना नेपाल–बङ्गलादेश युवा सम्मेलन पनि रहेकाले ३५ जनाको समूह नेपाल घुम्न जान लागेको उनले बताए ।

Dolpo Festival for Tourism Promotion

नेपाललाई स्वर्ग मान्ने धेरै बङ्गालीको नेपाल घुम्ने चाहना अधुरै हुने गरेको छ । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको गत कात्तिक २६ देखि २९ गतेसम्म भएको नेपालको औपचारिक भ्रमणले दुई देशबीचको कूटनीतिक मात्रै होइन जनस्तरको सम्बन्धमा पनि नयाँ आयाम थपेको छ । भ्रमणका क्रममा राष्ट्रपति हमिदले पुरातात्विक क्षेत्र भक्तपुर र पोखराको प्राकृतिक दृश्यावलोकनले बङ्गलादेशका नागरिकलाई नेपाल घुम्न थप प्रोत्साहन गरेको छ ।

राष्ट्रपति हमिदको भ्रमणलगत्तै नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । गत वर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल घुमेका थिए । भ्रमण वर्षमा थप आठ लाख पर्यटक भित्र्याउने चुनौती नेपाललाई छ । उचित प्रचार गर्न सके १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले सघाउ पुर्‌याउन सक्छ । बङ्गलादेशमा बढी तराई क्षेत्र भएकाले यहाँका नागरिकलाई नेपालको हिमालयन क्षेत्र औधी मनपर्ने ठाउँ हो ।

नेपालको खुला बजार, हरियाली डाँडाकाँडा, साहसिक र मनोरञ्जनात्मक गतिविधिले उनीहरुलाई लालायित बनाउँछ । बङ्गलादेशको राजशाही विश्वविद्यालयमा उच्च शिक्षा पढ्दै गरेकी लीमा शिरिना एक्टेरलाई नेपाल घुम्न औधी रहर छ । नेपाली संस्कृति र ऐतिहासिक क्षेत्र घुम्न र त्यहाँको स्थलगत अवलोकन गरेर जानकारी लिने इच्छा रहेको उनले बताए । अहिले नेपाल भ्रमण वर्ष चलिरहेको जानकारी रहेको बताउने एक्टेरको सकेसम्म सदुपयोग गर्ने कोशिष छ ।

Pakistan climber first summit Manaslu in this season
मनास्लु बेस क्याम्प ।

बङ्गलादेशको विकसित सहर राजशाहीकी साइमा कोमोर गुन्जोन भन्छन्, ‘नेपालीहरु सहयोगी र समन्वयकारी त छन् नै त्यससँगै नेपालको प्राकृतिक वातारण नै सुन्दर छ, त्यसैले आफूलाई लोभ्याइरहेको छ ।’ राजधानी ढाका र ग्रिनसिटी राजशाहीमा भेटिएका विद्यार्थी, व्यवसायी, शिक्षक, पत्रकार, राजनीतिज्ञ सबैले नेपाल घुम्न इच्छा रहेको सुनाउँछन् । पत्रकार जिउल गनी सलिम अर्को महिना समूहमा नेपाल भ्रमणको तयारीमा छन्। व्यवसायी अमिन रिङ्कु पनि सोही भ्रमण टोलीमा सहभागी हुँदै छन् ।

सगरमाथाको देश नेपाल आफैँमा प्राकृतिक छटाले भरिएकाले आफूलाई घुम्ने रहर जागेको सलिमको भनाइ छ । पत्रकार सलिमको बुझाइमा नेपाल बङ्गलादेशको असल छिमेकी र राम्रो सम्बन्ध भएको मुलुक हो । नेपाल र बङ्गलादेशको सीमा दूरी जम्मा २७ किलोमिटरको मात्रै छ । ‘घुम्ने धेरै विकल्प नेपालमा छ, हिमाल, पहाड र तराईको संयोजन भएको प्राकृतिक सुन्दरतायुक्त छ, साहसिक गतिविधिमा रम्न सकिन्छ,’ त्यसैले बङ्गलादेशी नागरिक नेपाल घुम्न चाहन्छन्,’ सलिमले थपे।

Homestays attraction
घलेगाउँ

१७ करोड जनसङ्ख्या भए पनि भ्रमण भने न्यून

बङ्गलादेशको राजधानी ढाकाबाट गाडीमा दुई दिनमै नेपाल आउन सकिन्छ । हवाईयात्रा केही घण्टाको मात्रै हो । तराई क्षेत्र बढी भए पनि नेपाल र यहाँका नागरिक, उनीहरुको बानी बेहोरा, खाना तथा भौगोलिक क्षेत्र उस्तैउस्तै छ । बङ्गलादेशमा ९१ प्रतिशत मुस्लिम समुदाय छन् । उनीहरु अन्य मुलुकमा जस्तो कट्टर नभई सहयोगी र खुला भावनाबाट प्रेरित छन् । अन्य देशका नागरिकलाई नेपालीले झैँ सम्मान गर्छन् । भौगोलिक हिसाबले झण्डैझण्डै बराबर भए पनि बङ्गदालेशको जनसङ्ख्या झण्डै १७ करोड छ तर, नेपाल भ्रमण गर्नेको सङ्ख्या वार्षिक ३० हजार पुग्न सकेको छैन ।

अध्यागमन विभागका अनुसार सन् २०१९ मा २५ हजार ८४९ बङ्गलादेशीले नेपाल भ्रमण गरेका थिए । त्यसको अघिल्लो वर्ष सन् २०१८ मा २५ हजार ३३० ले भ्रमण गरेका थिए । नेपाल भ्रमण वर्ष सन् २०२० को पहिलो महिनाको २८ दिनमा दुई हजार १२९ ले भ्रमण गरेका छन् । पहिलो महिनाको आगमनको अनुपात हेर्दा भ्रमण वर्षमा धेरै बढ्ने देखिँदैन । यसपटक नेपाल भ्रमण वर्षमा सरकारले बङ्गलादेशबाट ७२ हजार भित्र्याउने लक्ष्य राखेपछि बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र एक लाख नागरिकलाई नेपाल भ्रमण गराउने लक्ष्यका साथ काम भइरहेको बताउँछन् ।

Tilicho Lake, A highest place lake
मनाङको तिलिचो ताल ।

बङ्गलादेशी चाहना हुँदाहुँदै पनि नेपालमा उनीहरुको भ्रमण किन न्यून छ ? भन्ने एउटा गम्भीर प्रश्न खडा भएको छ । दुई देशको कूटनीतिक सम्बन्धलाई अझै बढाएर सञ्जाल विस्तार गर्न जरुरी रहेको उनीहरुको बुझाइ छ । प्राकृतिक सुन्दरताले भरिएको नेपालका बारेमा उचित प्रचारप्रसार नहुनु र भौतिक संरचना बनाउन नसक्नुलाई प्रमुख चुनौती मानिँदै आएको छ । पर्यटनविज्ञ प्रचण्डलाल प्रधान नेपालमा पर्यटक बढाउन सक्ने आधारहरु प्रशस्तै भए पनि त्यसतर्फ ध्यान नपुगेको बताउँछन् ।

अहिले भइरहेको संरचनामा मनोरञ्जनात्मक गतिविधि थपेमात्रै पनि पर्यटक वृद्धि हुने उहाँको विश्वास छ । राजदूत मिश्र कलाकार गायक गायिका, पत्रकारलाई भ्रमण गराउनेदेखि विशेषदूत बनाएर होस् या कार्यक्रम गरेर होस्, प्रचारप्रसारलाई कुनै कमी नगरेको दाबी गर्छन् । सन् १९७१ डिसेम्बर १६ मा पाकिस्तानबाट स्वतन्त्र भएदेखि नै बङ्गलादेशसँग नेपालको सम्बन्ध हार्दिकता र घनिष्ठ छ । बङ्गलादेशलाई मान्यता दिने नेपाल सातौँ राष्ट्र हो । सन् १९७२ मा नेपालले दौत्य सम्बन्ध कायम गरेको थियो । पछिल्लो एक दशकमा उसले आर्थिक वृद्धिमा ठूलो उपलब्धि हासिल गरेको छ । नेपाल र बङ्गलादेशको आर्थिक लगानी र व्यापारिक सम्बन्धमा अझै प्रगति हुनसकेको छैन ।

Lumbini-10 world heritage site in Nepal

‘हाम्रो र बङ्गलादेशमा एकै प्रकारका सांस्कृतिक विविधता छ, भाषामा पनि एकअर्कामा मिल्छ,’ राजदूत डा मिश्रले भने । नजिकको र ठूलो जनसङ्ख्या भए पनि भ्रमणको आदानप्रदान लाखौँमा हुनुपर्नेमा त्यो हुन नसकेको उहाँ स्वीकार्छन् । ‘समस्यारहितको सम्बन्ध छ, किन घुम्दैनन् भन्ने कारण खोज्दै जाँदा मुख्य कुरा सम्पर्क सञ्जालको असहजता देखियो, पहिले त झन् हवाईसेवा एउटा थियो, अहिले बल्ल दुई उडान छन्, यसले मात्रै पुग्दैन बढाउनुपर्छ, दोस्रो कुरा सतहमार्गबाट गर्नुपर्ने कामसमेत गर्न सकिएको छैन,’ मिश्रले भने ।

सडकमार्ग भएर जाँदा भारतीय भिसा चाहिने अर्काे समस्या देखापर्ने गरेको छ । बोडरमा गएर फर्किएका धेरै उदाहरण रहेका उनले बताए । नेपाल भ्रमण वर्षका कार्यक्रम प्रबन्धक रोहिणी खनाल धेरैजसो ढाकाका मानिसमात्रै नेपाल घुम्ने भएकाले पनि सङ्ख्या कम भएको बताउँछन् । यसपाली प्रचारात्मक कार्यक्रम प्रभावकारी भएकाले बढ्ने उनको विश्वास छ । संसारका आठ हजार मिटरमाथिका अग्ला १४ हिमालमध्ये आठ हिमाल नेपालमा छन् । विश्वमै सबैभन्दा पहिले आरोहण भएको आठ हजार मिटरमाथिको हिमालमध्ये कास्कीमा रहेको अन्नपूर्ण पहिलो हो ।

विश्वकै अग्लो चुचुरो सगरमाथा र विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीले विश्वकै ध्यान तानिरहेको छ । अभूतपूर्व कला र संस्कृतिको सङ्गम नेपालमा उचित वातावरण निर्माण गर्नुपर्ने देखिन्छ । हिमाल, पहाड र तराईको विविधताले भरिएको नेपाल ताल, नदी, झरना, वनजङ्गल र वन्यजन्तु, चराचुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विकस्थल, मठ मन्दिर, गाउँपरिवेश, कला, संस्कृति, वेशभूषा र रहनसहनको अनुपम सङ्गम हो ।

मनोरम हिमशृङ्खलाले घेरिएको र प्राकृतिक छठाले भरिपूर्ण नेपालका स्थानीय जातजातिले गर्ने स्वागत सत्कार विश्वकै नौलो र आकर्षक मानिन्छ । संस्कारले भरिएका मानिस यहाँ छन् । दुर्लभ पाटेबाघ, हात्ती, गैँडाजस्ता जङ्गली जनावरको बासस्थान र स्तूप, प्यागोडा तथा शिखरशैलीका मन्दिर, उत्सव, चाडपर्व, जिउँदो देवीदेवता नेपालको नौलो पहिचान हो । यसैलाई विश्वमा पुर्‌याउन सके पर्यटन प्रवर्द्धन हुने पर्यटनविज्ञको भनाइ छ । नेपाल सधैँ बङ्गालीको हृदयमा बसेको छ । सार्क स्थापनामा नेपाल र बङ्गलादेशले विशेष पहल गरेका थिए । उनीहरु नेपाललाई पहिलो सम्बन्धसूत्रको देश बनाउन चाहन्छन् । –रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…