February 9, 2020

सकियो लाटोकोसेरो उत्सव

सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङजाको राङभाङ – भैंसेगौडामा जारी नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७६ का अवसरमा गालामा लाटोकोसेरोको चित्र बनाएका युवती । तस्वीरः वासुदेव पौडेल / रासस

पोखरा– प्रकृतिका साथीहरू, मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङभाङ युवा क्लबद्वारा स्याङजाको राङभाङ– भैँसेगौडामा आयोजित लाटोकोसेरो तथा हुचिल उत्सव शनिबार सकिएको छ ।

किसानको साथीका रुपमा चिनिने लाटोकोसेरो संरक्षणका अभावमा हराउँदै गएको भन्दै यसको संरक्षणमा सचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक बालकुमार गुरुङले बताए।

तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहश्राब्दी पदमार्ग (मलेनियम ट्रेक) अन्तर्गत पर्ने यो क्षेत्र चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य भएको र यहाँ पाँच प्रजातिको लाटोकोसेरोका साथै नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर ठाउँठाउँमा देख्न सकिने उहाँले जानकारी दिए ।

प्रदेशसभा सदस्य दीपक घर्तीमगरले पर्यावरणका दृष्टिले नेपाल धनी भएको बताउँदै यस किसिमको कार्यक्रमले पर्यावरणीय संरक्षणमा विशेष योगदान दिने बताए । प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले संरक्षणको अभावमा लाटोकोसेरो लोप हुँदै गएको वास्तविकतामा नेपालमा विगत आठ वर्षयता यस किसिमको उत्सव गरिँदै आइएको जानकारी दिए ।

उत्सवसँगै यस क्षेत्रमा लाटोकोसेरो संरक्षणसम्बन्धी जनस्तरमा सचेतना अभिवृद्धि भएको उनले विश्वास व्यक्त गरे । मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले मिलेनियम ट्रेकअन्तर्गतको राङभाङ–भैँसेगौडामा आयोजित उत्सवले यस क्षेत्रमा चरा पर्यटनका साथै समग्र मिलेनियम ट्रेकको प्रवर्द्धनमा टेवा पुगेको बताए ।

दुईदिने उत्सवका अवसरमा विभिन्न प्राचीन संस्कतिमा आधारित नाच, लाटोकोसेरोको जानकारीमूलक प्रदर्शनी गरिएको थियो । उक्त अवसरमा लाटोकोसेरो संरक्षणलाई लक्षित गरी आयोजित विद्यालयस्तरीय कथा, कविता, निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…