February 18, 2020

पर्यटक बढाउन ‘चितुवा’


तुलसीपुर । भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ ।

पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए । गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उनको भनाइ छ । उनका अनुसार करिब एक वर्ष अघिदेखि पार्कको लागि चितुवा सहयोग गरिदिन माग गरिएको थियो । “हामीले लामो प्रयासपछि पार्कमा चितुवा ल्याएका छौँ” उनले भने, “यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ ।”

उनका अनुसार पाँच वर्षको ४० किलो तौलको चितुवा ल्याइएको हो । माघ २६ गते ल्याइएको उक्त चितुवा हेर्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्न थालेको अध्यक्ष भण्डारीले बताए । चितुवा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

“हामीले चितुवा त ल्यायौँ तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ” उनले भने । “यसको समाधानका लागि हामीले तयारी गरिरहेका छौँ ।” अबको केही समयमा बाघ, अजिङ्गर, निलगाइ, भालु, जरायो, मयूरलगायतका जनावर ल्याउने गरी प्रक्रियाअघि बढाएको बताए । त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको बताइएको छ ।

अहिले पार्कमा घाइते तथा अलपत्र जङ्गली जनावरलाई उपचार तथा संरक्षण गरिएको उनको भनाइ छ । उद्यानमा हाल २० वटा खरायो, पाँच वटा गिनिपिक (मुसा खरायो), दुई वटा राजहाँस, दुई वटा टर्की, एउटा कछुवा, दुईवटा हुर्इंचिल, एउटा चिल, एउटा दुम्सी, दुईवटा बाँदर र एउटा चित्तल रहेका छन् । यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको सङ्ख्या बढेका छन् । अहिले पार्कमा पिकनिक स्पर्ट, बाल उद्यानलगायत संरचना रहेका छन् । पार्कमा गणेश मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने गौतमबुद्धको शालिक पनि निर्माण भइरहेका छन् । यहाँ पहिले वनभोजका लागि बढी मानिस आउने गरेको भए पनि पछिल्लो समय जनावर तथा पंक्षीको अवलोकन गर्न आउने गरेको वडा नं ७ का वडाध्यक्ष टोपबहादुर केसीले बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…