February 20, 2020

फागुन २३ देखि ‘दोस्रो टोखा महोत्सव’

काठमाडौँ– धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–२ र ३ टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको बताए ।

‘मेलामा स्थानीय कला, संस्कृति, झाँकी, स्थानीय नेवारी खानाको प्रदर्शन गरिनेछ,’ उनले भने । नेवाः गुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा टोखा नगरपालिकामा रहेका सांस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा २५ लाख विनियोजन गरेको छ । महोत्सवमा पाँच लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…