February 23, 2020

अहिलेको प्रथामिकता पर्यटन क्षेत्रलाई कोरोनाको प्रभावबाट बाहिर निकाल्नु हो : डा. रेग्मी

CEO–Nepal Tourism Board
डा. धनञ्जय रेग्मी, प्रमुख कार्यकारी अधिकृत –नेपाल पर्यटन बोर्ड

सरकारले नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मी नियुक्त गरेका छन्। चार वर्षका लागि नियुक्त भएका रेग्मीले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा दाग लाग्ने काम नगर्ने बताएका छन् । निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको उन्नतिमा लागि पर्ने बताउने रेग्मीसँग हाइलाइट्स टुरिजमका लागि विवेक गुरुङले गरेको कुराकानीः

नेपाल भ्रमण वर्ष चलिरहेको बेला नेपाल पर्यटन बोर्डमा कार्यकारी निर्देशक (सिइओ) हुनुभएको छ, के के विषय प्राथमिकतामा राख्नु भएको छ?

मेरो प्राथमिकता भन्दा पनि नेपाल पर्यटन बोर्डको सिइओको कुर्सीमा बसिसकेपछि यसको आफ्नै किसिममा नीति र नियमहरू छन् । पर्यटन बोर्डका आफ्नै उद्देश्य छन् । बोर्डको जन्म नै निजी क्षेत्रलाई सहयोग गर्नका लागि भएको हो । यसमा पहिलो मेरो काम भनेको निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नु हो । चीनमा देखिएको कोरोना भाइरसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको छ । आजको दिनमा होटलहरु खाली छन् । कोरोनाले विश्वभरिका पर्यटकको यात्रा प्रभावित भएको छ । बुकिङहरू क्यान्सिल भएको स्थिति छ । यस्तो समयमा कसरी ‘फाइट’ गर्ने । कसरी निराकरण गर्ने । कसरी निजी क्षेत्रलाई यो चुनौतीबाट बाहिर निकाल्ने भन्ने नै मूल उद्देश्य हो ।

तपाई बोर्डको कार्यकारी निर्देशक भएको दुई साता भयो, अनुभव कस्तो हुँदैछ ?

भ्रमण वर्ष भएकोले हामी कसरी सफल बनाउने भनेर त्यसमै केन्द्रित छौँ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षमा कसरी धेरै भन्दा धेरै पर्यटक ल्याउने र आर्थिक विकासमा टेवा पुर्‍याउने भन्ने नै हो । मेरा सोच भनेको नेपालमा भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने हो । धेरै पर्यटकहरू आएको खण्डमा सरकारलाई सहयोग र निजी क्षेत्रलाई टेवा पुग्दछ । कसरी सरकारलाई सहयोग गर्ने र पर्यटनको प्रवर्द्धन गर्ने भन्ने नै अहिलेको मूल विषय हो । म आएको दुई हप्ता भयो । सिइओको पद पाए पछि निरन्तर रूपमा पर्यटन क्षेत्रसँग सम्बन्धित काम नै गरिरहेको छु । यस भित्रको आन्तरिक कामहरू के–के छन् । यहाँ भित्रको संरचनाहरू कस्तो छ भनेर कुरा बुझ्दै छु । यहाँ पहिले भएको कामको पनि मूल्याङ्कन गर्नुपर्ने हुन्छ । जो कोहीले गरे पनि राम्रैको लागि गरिरहेका छन् । सकारात्मक रूपमा आएका राम्रा कुराहरू मैले सिक्नु पर्ने हुन्छ । यसअघिका व्यक्तिहरूले ल्याएका कुराहरूमा निरन्तरता दिनुपर्ने होलान् । राम्रा कुराहरू छाडेर मै हुँ भनेर अगाडि बढेमा त्यसले कसैलाई पनि भलो गर्दैन । मैले पहिला के काम हुँदै रहेछ त्यो बुझ्ने काम गरिरहेको छु ।

तपाईँको आफ्नो कार्य योजना चाहिँ के छ ?

केही गरौं भनेर नै आएको हुँ । मेरो कार्य योजना भनेको जुन नेपाल पर्यटन बोर्डले गर्ने भनेको छ, त्यही हो । त्यसलाई नै प्रवर्द्धन गर्ने हो । मेरो बुझाइ भनेको यसअघि प्रवर्द्धनको काम कमजोर हिसाबले गरिएको थियो भन्ने हो । डिजिटलाईज् रूपमा छैन भने त्यसलाई डिजिटिलाईज बनाउने हो । अहिले मार्केट फेरिएको छ । पहिलेको मार्केटिङ कागजमा छापेर बोकेर बाँड्दै हिँडिन्थ्यो । देश विदेशमा प्रवर्द्धनका लागि गइन्थ्यो । अहिले जमाना फेरिएको छ । अहिले इमेल, फेसबुक, ट्विटर, युट्युबको जमाना छ । मार्केटिङ डिजिटल भइसकेको छ, हामी भने छाप्ने काममा नै जोड दिई रहेको अवस्थामा छौँ । यसलाई डिजिटलाईज गर्न खोजेका छौँ । जसरी नि डिजिटलाईज गरेरै लैजाने छौँ । भइरहेकै कामहरूलाई पनि थप प्रभावकारी रूपमा अगाडि लैजाने मेरो योजना छ ।

अरू के के गर्दै हुनुहुन्छ आफ्नो कार्यकालमा ?

अर्को मेरो उद्देश्य भनेको छिटो एक्सनमा जाने हो । कुनै पनि काम भएको छ भने त्यसलाई बुझेर एक्सन लिने छु । जस्तो कि अहिले कोरोना भाइरसको सङ्क्रमण छ । हामी स्वास्थ्य मन्त्रालय, पर्यटनसँग सरोकार राख्ने विभिन्न निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरी निचोड निकाल्ने छौँ ता की केही कमजोरीले गर्दा त्यो कार्य नबिग्रियोस् । कोरोनाकै कारण अहिले सरकारले नै घुमफिरमा सावधानी अपनाउन भनेको अवस्था छ । त्यसैले संसार भरी नै उत्साहित भएर यात्रामा निस्कनेहरू कमै देखिन्छन् । यसले संसारभरि प्रभाव पारेको अवस्था छ । यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा हामीले चीनमा आफ्नो पर्यटकीय उत्पादन बेचिरहेका संस्थाहरूलाई बोलाएर छलफल गर्‍यौं । उहाँहरूको बुझाइ यो अप्ठ्यारो छोटो समयको लागि हो भन्ने छ ।

CEO–Nepal Tourism Boardत्यस्तै हामीले चीनबाट पर्यटक कम आएको खण्डमा अर्को बजार कहाँ हुन सक्छ भनेर पनि छलफल अघि बढाएका छौँ । केही देशहरूको पहिचान पनि भएको छ । ती देशहरू पहिला पनि थिए तर त्यति फोकसमा थिएनन् । ती देशहरूमा प्रवर्द्धनको तयारीमा छौँ । हामीले पर्यटकको ठुलो बजारको रूपमा चीन र भारतलाई लिने गरेका छौँ । त्यसमा पनि सीमा क्षेत्रका सहरहरूमा प्रवर्द्धन गर्ने हो । यसअघि छिमेकी मुलुकको सीमा क्षेत्रका सहरहरूमा काठमाडौँ, पोखरा र चितवनलाई चिनाइन्थ्यो, तर यसपालि हाम्रा सीमा क्षेत्रका सहरहरूलाई पनि प्रवर्द्धन गर्नेछौँ । जस्तै झापा, बुटवल, कञ्चनपुरलगायतका पूर्वदेखि पश्चिमसम्मका २० सीमा जोडिएका जिल्लाका सहरहरूको पनि यसमा सहभागिता गराउने छौँ ।

सीमाबाट एक सय किलोमिटरसम्मका भारतीय सहरहरूमा प्रवर्द्धन गर्न सकेको खण्डमा त्यहाँ पैसा र जनसङ्ख्या दुवै छ । तिनीहरूलाई नेपालको गन्तव्य राम्रो छ भनेर अगाडि ल्याउन सकियो भने पर्यटनको छिटो विकास गर्न सकिन्छ । यो एउटा तत्कालको एक्सन मात्र हो । अर्को जापान र कोरियाका पर्यटनसँग सम्बन्धित व्यक्तिहरूसँग छलफल गरिरहेका छौँ । जापानबाट सोचे जस्तो धेरै पर्यटक आएका छैनन् । टाढा भएर पनि होला, अर्को नेपाल एयरलाइन्सको सेवा नभएर पनि होला । अहिले नेपाल एयरलाइन्सले जापानमा उडान सुरु गरेको छ, यसैले हामीले जापानलाई प्राथमिकतामा राखेका छौँ । त्यहाँका प्रतिनिधिहरूसँग कुरा भइरहेको छ ।

हामीले जापानी टुर अपरेटरहरूसँग कुरा गरेका छौँ । त्यहाँको राजदूतावासले पनि पहल गरिरहेको छ । यहाँको जापानी दूतावासमा पनि कुरा भइरहेको छ । नेपाललाई एउटा राम्रो गन्तव्यको रूपमा त्यहाँको मिडियामार्फत प्रचार गर्ने छौं । कोरियाका लागि पनि त्यहाँका विभिन्न सङ्घसंस्थासँग काम गरिरहेका छौँ ।

यसमा पर्यटन विभागले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बोर्डको तर्फबाट गरिने सहयोग पर्यटन क्षेत्रको विकासकै लागि हो । यसरी नै बङ्गलादेशसित पनि कुरा भएको छ । त्यहाँको राष्ट्रपति नेपाल आएपछि त्यहाँको पर्यटक आउन चाहन्छन् तर भारतले एक पटकलाई मात्र भिसा दिँदो रहेछ । बाहिर निस्किएपछि भित्र पस्न नमिल्ने गरी भिसा दिँदो रहेछ । हवाई मार्गबाट ल्याउन महँगो छ, यसका लागि कूटनीतिक पहलका लागि सरकारलाई कुरा गरिएका छौँ । हामी अहिले सरकारका सबै संयन्त्रहरूलाई पर्यटनका सम्बन्धमा अभिमुखीकरण गराउँदै छौँ । एक दुई ठाउँकोले मात्र पर्यटनको विकास गर्छु भनेर हुँदैन । सबै ठाउँबाट पहलको जरुरत छ । पर्यटनको सम्बन्धी ज्ञान बढाउनको लागि विद्यालयबाट नै विद्यार्थीहरूलाई पढाउन सकिए राम्रो हुने हुँदा विद्यालयहरूको संस्थाहरूसँग कुराकानी गरिरहेका छौँ ।

विद्यालयमा सानो पर्यटन क्लब जस्तो बनाएर त्यस बरपरको जानकारी दिने किसिमको बनाउन खोजेको छौँ । त्यसैले यस सम्बन्धी सचेतनाको कार्यक्रम चलाई रहेका छौँ ।

राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गरेको छ । १४ वटा राष्ट्रिय निकुञ्ज छन् । यसमा विकासको लागि नेपाली सेनासँग सहकार्य गर्ने पहल भइरहेको छ । हामी छिट्टै नै निर्णय गरी अगाडि जाने छौँ । म र मेरो टिम अहिले प्रचारमुखी भन्दा पनि अलि परिणाममुखी काम गरौँ न भनेर लागि रहेका छौँ ।

नेपालको पर्यटन क्षेत्र कस्तो होस् भन्ने चाहना हो तपाईको ?

म जे गर्छु राम्रोको लागि गर्छु । विकास सँगसँगै विनाश हुने खल्को कामलाई रोक्छु । हामीले कुनै पनि काम गछौं भने त्यसलाई दिगो खालको बनाउनु पर्छ । यसबाट हुने आम्दानीमा पनि सबैको समान किसिमले नै वितरण होस् भन्ने चाहना छ । यहाँ भारी बोक्ने भरियाको खल्तीमा पैसा नै नजाने समस्या छ । अरूको पनि हालत यस्तै छ । दुःख गरे अनुसारको पारिश्रमिक पाओस् भन्ने चाहना छ । काम गर्ने मानिसको सुरक्षा र स्वास्थ्यको कुरा छ । बिमाको व्यवस्था होस्, होटेलहरूले सरसफाइमा ध्यान दिउन् र राम्रो खाना खुवाउन । प्राकृतिक सम्पदाको संरक्षण होस् । जनचेतना जगाउनु पर्ने पनि त्यही हो । कसैलाई असर नपार्ने दिगो पर्यटन विकास र विस्तार गर्ने तर्फ मैले सोचेको छु ।

बोर्डले विदेशमा गरिरहेको प्रवर्द्धनको नतिजा कस्तो छ?

चीन, भारत, बङ्गलादेश, जापान, कोरिया, हङकङलगायतको ५० देशमा पुगेरै बोर्डले नेपालको पर्यटन प्रवर्द्धनको काम गर्दै आएको छ । यसलाई अझ प्रभावकारी रूपमा अगाडि लैजानका लागि पहिलेदेखि हुँदै आएका राम्रा कामलाई अगाडि बढाउने कोसिस मेरो टिमले गर्नेछ । विदेशमा गर्ने प्रचार भनेको कसरी नेपालको पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गरी गुणस्तरीय पर्यटक ल्याउने भन्ने नै हो । यसैमा दत्तचित्त भएर लागि पर्ने छौँ ।CEO– Nepal tourism Board

पर्यटन क्षेत्रमा बेला बेला समस्याहरू आइरहन्छन्, त्यसको व्यवस्थापनको लागि पनि केही सोच्नु भएको छ?

पर्यटन क्षेत्रमा दुई/तीन खालका समस्याहरू देखा पर्दा रहेका छन् । एउटा, हाम्रो आफ्नै हेलचक्र्याईले हुने समस्या । जस्तै, केही अघि मकवानपुरको दामनमा भयो । यस्ताका घट्नामा होटेल सञ्चालक र पर्यटकलाई नि केही जानकारी हुनुपर्ने हो । यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुको पनि ध्यान जानु जरुरी देख्छु ।

दोस्रो खालको समस्या प्राकृतिक कारणले हुन्छन् । यसमा हिँड्दाहिँड्दै हिम पहिरो खस्ने जस्ता समस्या हुन्छ । केहीअघि अन्नपूर्ण क्षेत्रमा त्यस्तै भयो । यस्ता समस्याको नियन्त्रण आफैले गर्न सक्दैन । यसका लागि सावधानी अपनाउन सकिन्छ । जस्तै, हिम पहिरो आउने ठाउँ हो भने कुन सयमा जाँदा समस्या आउँदैन, कु्नबेला हो त्यहाँ जाने भन्ने किसिमको जानकारी राख्नु पर्दछ । आवश्यकता अनुसार सुरक्षा उपाय पनि अपनाउनु पर्छ ।

अन्नपूर्ण क्षेत्रमा भएको घट्नाको अध्ययन अनुसन्धानका लागि नेपाली सेनासँग कुराकानी भइरहेको छ । यसमा वैकल्पिक मार्गका सम्बन्धमा पनि अध्ययन हुनेछ ।

तेस्रो भनेको विश्वव्यापी समस्या हो । अहिलेको कुरा गर्दा चीनबाट फैलिएको कोरोना भाइरसले समस्या निम्त्याएको छ । यस्तो समस्या हाम्रो मात्र बसमा हुँदैन । त्यसैले यसको निराकरणको लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने हुन्छ । यस्तो बेलामा कसरी आम मानिसलाई सचेत बनाउने र सुरक्षित राख्ने भन्ने नै हो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…