February 23, 2020

तनहुँको लाब्दीमा छिम्केश्वरी महोत्सव हुने

Chimkeshwori Festival

काठमाडौँ । तनहुँको आँबुखैरनी–५, लाब्दीमा ‘छिमकेश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६’ हुने भएको छ । छिम्केश्वरी पर्यटन विकास समितिले आयोजना गर्न लागेको महोत्सव यही फागुन २५ देखि २७ सम्म हुनेछ ।

‘छिम्केश्वरी हाम्रो आधार ग्रामीण पर्यटक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथमा आयोजन हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको महोत्सव आयोजक समितिका निर्देशक हरिसिंह गुरुङले बताए ।

नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र प्याडल नेपाल लगायतको सहयोगमा हुन लागेको महोत्सवको मूल उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन गर्नु रहेको निर्देशक गुरुङले बताए ।

महोत्सवले स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी स्थानीयलाई सबल बनाएर अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यको रूपमा चिनाउन सहयोग पुग्ने निर्देशक गुरुङले बताए ।

महोत्सवको आकर्षणहरूमा छिम्केश्वरी सप्तदेवी दर्शन, छिम्केश्वरी उकाली खुला दौड प्रतियोगिता, पदयात्रा, माउन्टेन बाईकिङ प्रतियोगिता, लाब्दी–हिले खर्क होमस्टे मितेरी दौड प्रतियोगिता, हिमालको दृश्य अवलोकन, पहरा र झरनाको अवलोकन, विद्यालय स्तरीय कौरा नृत्य प्रतियोगिता, कृषि तथा बन पैदावरहरुको प्रदर्शनी, छेलो हान्ने तथा लिङ्गो चढ्ने प्रतियोगिता र स्थानीय खानाका स्टलहरू रहने छन् ।

महोत्सवमा १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने २५ हजार जनाले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा २५ लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…